दुई तिहाईको सरकार गठनपछि उद्योग दर्ता न्यून, ५ वर्षयताकै कम लगानी

राजनीतिक संक्रमणको अन्त्यसँगै आर्थिक विकासको गोरेटो कोर्न नेपाल अग्रसर हुनु पर्ने कुरा नेताहरुले गर्न थालेको केही वर्ष बितिसक्यो । अहिलेको दुई तिहाई जनमत पाएको सरकार समृद्धिको नारै घन्काएर सत्तामा पुगेको हो । र, स्वंय प्रधानमन्त्री खड्गप्रसाद ओली विकासको गफ गर्न अग्रपङ्तीमा रहेका छन् ।

 

नेपालको आर्थिक विकासमा औद्योगिक क्षेत्रको भूमिकाको महत्व अब थप चर्चा गरिरहनु पर्ने विषय होइन । अहिलेको व्यापारघाटाको मुख्य कारण हाम्रो निर्यात मूलक उद्योगको कमी र आफ्नै उपभोग्य वस्तुको न्यून उत्पादन  हुन् ।

 

अहिले नेपालमा औद्योगिक क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा योगदान दक्षिण एसियाका अन्य मुलुकको तुलनामा निकै नै कम छ । भारत, बंगलादेश, पाकिस्तान र चीनको अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान क्रमश २९.७३, ३३.७१, १७.९४ र ४४ प्रतिशत रहेको छ ।

 

तर, नेपालमा भने यो क्षेत्रको योगदान ५.८ प्रतिशत मात्र रहेको छ । दुर्भाग्यवश, आर्थिक समृद्धिको बाटोमा दौडन खोज्दै गर्दा नेपालमा उद्योग दर्ताका साथसाथै औद्योगिक क्षेत्रमा लगानी बढ्नुको साटो घट्दै गइरहेको छ । दुई तिहाईको सरकार गठन पश्चात् उद्योग दर्ता र लगानी दुवैमा भारी गिरावट आएको छ ।

 

आर्थिक वर्ष २०७३/७४ मा ५१० उद्योग दर्ता भई १ खर्ब ६३ अर्ब रुपैंयाँ लगानी भएको थियो । त्यसैगरि आर्थिक वर्ष २०७४/७५ मा ४९६ उद्योग दर्ता भई ३ खर्ब ५० खर्ब लगानी प्रतिवद्धता आएको थियो । दुई तिहाईको सरकार गठन पश्चात् भने चालू आर्थिक वर्षको ८ महिनामा ३०३ नयाँ उद्योग दर्ता भएका छन् र १ खर्ब ४२ अर्ब लगानी प्रतिबद्धता आएको छ ।

 

कुनै पनि देशमा लगानीको वातावरण बन्नुमा उक्त देशले अंगिकार गरेको नीतिले भन्दा स्थानिय लगानीकर्ताले कसरी व्यवसाय गरिरहेका छन् र उनीहरुको अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो छ भन्ने विषयले महत्व राख्छ ।

 

उद्योग व्यवसाय सञ्चालन सहजताको अवस्था चित्रण गर्ने राष्ट्र संघीय प्रतिवेदन ‘डुइङ्ग विजनेश’ २०१९ प्रतिवेदन अनुसार नेपाल १९० देश मध्ये ११०औँ स्थानमा छ । नेपालमा सहजै व्यावसाय सञ्चालन गर्न कठिन छ भन्ने सन्देश यस प्रतिवेदनले दिएको छ । यसले पनि प्रत्यक्ष वैदेशिक लगानीको बाटो छेकेको हुनसक्छ । अर्थमन्त्री डा यूवराज खतिवडाले त यो प्रतिवेदनका बारे सार्वजनिक रुपमै असन्तुष्टि राखेका थिए ।

 

सरकारले औद्योगिक क्षेत्रलाई प्राथामिकतामा राखेर २०७५ चैत्रमा लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा ४० देशका ३०० भन्दा बढी विदेशी कम्पनीहरुबाट ८०९ विदेशी लगानीकर्ता सहभागी भएका थिए । सम्मेलनमा सरकारको तर्फबाट ५० र नीजि क्षेत्रबाट २७ परियोजना प्रस्तुत गरिएको थियो । ती परियोजनाहरुमा वास्तविक लगानी आउलान वा नआउलान भन्ने आगामी दिनमा सरकारले बनाउने वातावरणमा नै निर्भर रहला ।

 

२ वर्ष अघि (सन् २०१७ मा) पनि सरकारले लगानी सम्मेलनको आयोजना गरेको थियो । र, करिब १७ अर्ब डलर लगानी प्रतिबद्धता पनि आएको थियो । तर, त्यो वास्तविक लगानीमा परिणत हुन सकेन ।

 

नेपालको औद्योगिक अवस्था
नेपालमा हालसम्म ७ हजार ८ सय ३२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगहरुमा साना तथा मझौला उद्योगको हिस्सा करिब ६४.५ प्रतिशत छ ।

 

सरकारले समृद्धिका लागि रोजगारमुलक र उच्च प्रतिफल सहितको औद्योगिक विकासका लागि विभिन्न ऐन, नियमावली तथा निर्देशिका, आर्थिक क्षेत्र तथा औद्योगिक ग्राम स्थापना जस्ता कार्यहरु गरिरहेको छ ।

 

हालसम्म स्थापना भएका उद्योगहरुबाट जम्मा ५ लाख ९१ हजार १ सय १ जनाले रोजगारी पाएका छन् । प्रति उद्योग रोजगारी ७५ जना मात्र रहेको छ । नेपालमा उत्पादन मुलक उद्योगमा भन्दा सेवा लगायतका उद्योगहरुमा बढी लगानी भएको छ । नेपालमा दर्ता भएका उद्योगहरुको विवरणमा ठूला तथा मझौलाभन्दा साना उद्योगको संख्या बढी देखिएको छ ।

 

उद्योग स्थापनाकालदेखि  हालसम्म उद्योगको अवस्थाः

वर्तमान समयमा नेपाल औद्योगिक विकासको लक्ष्य राखेर अघि बढेको छ । आर्थिक वर्ष २०७५/७६ सालमा औद्योगिक क्षेत्रको वृद्धिदर ५.८ प्रतिशत मात्र रहेको छ ।

 

क्षेत्रगत हिसाबले उद्योग
क्षेत्रगत हिसावमा कुरा गर्दा नेपालमा सवैभन्दा धेरै उद्योग उत्पादनमुलक क्षेत्रमा भएपनि स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्ने उद्योगहरुको विकास अझै नेपालमा हुन सकेको छैन । स्वदेशी श्रम र कच्चा प्रदार्थ प्रयोग हुन सक्ने खनिज तथा निर्माण उद्योगहरुको दर्ता संख्या न्युन छ ।

 

रोजगारी सृजना गर्न, उत्पादनमुलक क्षेत्रको विकास गर्न, निर्यातमा वृद्धि गर्न तथा स्वदेशी स्रोत साधनको सदुपयोग र परिचालन गर्न लागी उद्यौगिक विकास अत्यन्त जरुरी छ । यस्ता क्षेत्रको विकासले मात्र नेपालको आर्थिक विकास सम्भव छ ।

 

सरकारले उद्योगको दर्ता प्रक्रिया देखि उद्योग स्थापना हुने स्थानिय क्षेत्रसम्म सहजीकरण गर्नु जरुरी छ । उद्योग मैत्री वातावरण बनाउने , उद्योग दर्ताका लागी एकद्धार नीति लागु गर्ने, निर्यातजन्य उद्योगहरुलाई कर छुट दिने, धेरै स्वदेशी रोजगारी दिने उद्योगहरुलाई सरकारी सहुलियत दिने जस्ता योजना सरकारले तत्काल थाल्नु पर्ने देखिन्छ ।

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप Read Previous

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

घरेलु फोहरको व्यवस्थापनबाट ‘होम बायोग्याँस’ Read Next

घरेलु फोहरको व्यवस्थापनबाट ‘होम बायोग्याँस’