देशभरका ३१ विमानस्थलको स्तरोन्नति गरिँदै, यस्तो छ योजना

काठमाडौं । सरकारले देशभरका विमानस्थल निर्माणका लागि ५ वर्षे योजना बनाएको छ । जस अन्तर्गत देशभरका ३१ विमानस्थहरु स्तरोन्नति र आधुनिकीकरण गर्न लागिएको हो ।

 

नागरिक उड्यन प्राधिकरण (क्यान) का अनुसार अत्याधुनिक भौतिक पूर्वाधार निर्माणसहित देशभरका विमानस्थल स्तरोन्नतिको योजना बनाइएको हो । जस अनुसार निम्न विमानस्थलमा यस्ता कार्य गरिनेछ ।

 

विराटनगर विमानस्थल

 

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बनाइने भएको छ । विमानस्थलमा ३ हजार मिटर लामो रनवे निर्माण गर्न लागिएको हो । यो त्रिभुवन विमानस्थलमा रहेको रनवे सरह हुनेछ । विमानस्थलमा ८४० मिटरको ट्याक्सी–वे समेत निर्माण गरिने छ । कर्मचारीका लागि समेत विमानस्थल भित्रै क्वाटरको व्यवस्था गरिने क्यानले जनाएको छ ।

 

सो विमानस्थल स्तरोन्नति पछि सिआरजे-७००, ड्यास ८ लगायतका ठूलो एयरक्राफ्टहरु सञ्चालन गर्न सकिने छ । विमानस्थल निर्माणका लागि ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

 

 

भरतपुर विमानस्थल

भरतपुर विमानस्थलमा १६ सय ५० मिटरको रनवे निर्माण गरिने छ । विमानस्थल स्तरोन्नतिपछि विमानस्थलबाट ड्यास–८, एटीआर–७२ विमानहरु सञ्चालन गर्न सकिने छ । विराटनगरमा रात्री विमान सेवाको समेत व्यवस्था गरिनुका साथै नयाँ टर्मिनल भवन निर्माण गरिने योजना रहेको छ ।

 

नेपालगञ्ज विमानस्थल

 

नेपालगञ्ज विमानस्थलमा २ हजार ६ सय ५० मिटर रनवे बनाइने भएको छ । सो विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको समेत डिजाइन तयार भइसकेको छ । टर्मिनल भवनका लागि मात्र २ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ ।

 

मास्टर प्लान अनुसार विमानस्थल स्तरोन्नतिका लागि १ सय १८ बिघा जग्गा अधिग्रहण गर्नु पर्ने हुन्छ । सो विमानस्थल स्तरोन्नतिका लागि १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विमानस्थल स्तरोन्नति पूरा भएपछि ए–३२०, बी७३७ जस्ता एयरक्राफ्टहरु उडान भर्न सकिने छ ।

 

चन्द्रागढी विमानस्थल

 

चन्द्रागढी विमानस्थललाई ५ वर्षमा सिआरजे–७००, ड्यास ८ लगायतका विमान अवतरण गर्न सक्ने क्षमतामा विस्तार गर्न लागिएको छ ।
यसमा नयाँ टर्मिनल भवन राखिने छ भने १८ सय ३० मिटरको रनवे समेत निर्माण भइसकेको छ ।

 

यस विमानस्थललाई फ्यूल स्टेसनको रुपमा विकास गरिने योजना क्यानको रहेको छ । यसका लागि कुल ५ अर्ब लागत अनुमान गरिएको छ ।

 

धनगढी विमानस्थल

 

धनगढी विमानस्थल स्तरोन्नतिका लागि २ सय ४३ बिघा जग्गा अतिग्रहण गर्नु पर्ने छ । २ हजार ५ सय ५० मिटर रनवे निर्माण गरिने छ । विमानस्तललाई ए३२०, बी–७४७ लगायतका विमानहरु सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गरिने छ । विमानस्थर स्तरोन्नतिका लागि कुल ५ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ ।

 

जनकपुर विमानस्थल

जनकपुर विमानस्थलमा ५ वर्षभित्र नयाँ टर्मिनल भवन निर्माण गर्नुका साथै सीआरजे–७००, ड्यास ८ लगायतका विमान सञ्चालन हुन सक्ने गरी स्तरोन्नति गरिने छ ।

 

विमानस्थलमा १३ सय मिटरको रनवेमा कालोपत्र गरी निर्माण गरिने जनाइएको छ । हाल सो स्थानमा घाँसे मैदान रहेको छ । विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहण बाहेक १ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ ।

 

राजविराज विमानस्थल

 

राजविराज विमानस्थललाई स्तरोन्नतिका लागि ९७ बिघा जमिन अधिग्रहण गर्नु पर्ने भएको छ । सो निर्माण पछि विमानस्थलमा एटीआर–७२, ड्यास ८ लगायतका ठूला विमानहरु सञ्चालन गर्न सकिने छ ।

 

विमानस्थर स्तरोन्नतिका लागि ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विमानस्थलमा कन्ट्रोल टावर निर्माण गर्नुका साथै हवाइ इन्धन राख्नका लागि स्टेसन समेत बनाइने योजनामा रहेको छ ।

 

हाल राजविराज विमानस्थलमा १७ सय मिटरको रनवे निर्माण गर्नुका साथै टर्मिनल भवनको समेत निर्माण पूरा भइसकेको क्यानका सूचना अधिकारी त्रिलोचोन पौडेलले जानकारी दिए ।

 

साना आन्तरिक विमानस्थल स्तरोन्नतिका योजना

 

क्यानले २४ वटा साना आन्तरिक विमानस्थलहरु समेत स्तरोन्नति गर्ने योजना बनाएको छ । हाल जीर्ण अवस्थामा रहेका ती विमानस्थहरुमा घाँसे मैदान भएको स्थानमा कालोपत्र गरिन थालेको छ भने । आगामी दिनमा दैनिक उडान सञ्चालनको व्यवस्था हुने गरी स्तरोन्नती गर्न लागिएको पौडेलले बताए ।

 

सुर्खेत विमानस्थल

 

सुर्खेत विमानस्थलको घाँसे रनवेलाई कालोपत्र गरिने भएको छ । २५ बिघा जग्गा अधिग्रहण गरी १५ सय ५५ मिटरको रनवे समेत निर्माण गरिने योजना रहेको छ । सो विमानस्थलमा चाँडै रात्री सेवा समेत सञ्चालन गरिने जनाइएको छ ।

 

यसका लागि ८ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ । जग्गा अधिग्रहणका लागि मात्र ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अन्य भौतिक निर्माणका लागि ३ अर्ब खर्च हुने छ ।

 

तुम्लिङटार विमानस्थल

तुम्लिङटार विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणाधिन अवस्थामा रहेको छ । रनवे निर्माणका लागि मूल्यांकनको अवस्थामा रहेको क्यानले जनाएको छ । यसको स्तरोन्नतिका विषयमा छलफल भइरहेको छ ।

 

लुक्ला विमानस्थल

 

लुक्ला विमानस्थल स्तरोन्नतिका क्रममा त्यहाँ हेलिकप्टर राख्ने ठाउँ बनाइन लागिएको छ । विमानस्थलमा ६ वटासम्म हेलिकप्टर अट्ने छ । हेलिकप्टरका लागि छुट्टै टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थलमा ५ सय २७ मिटर रनवे बनाइने छ ।

 

 

जोमसोम विमानस्थल

 

जोमसोम विमानस्थलमा ८ सय १५ मिटरको रनवे कालोपत्र गर्ने काम पूरा भएको छ । जोमसोमका लागि एटीआर–४२ विमान सञ्चालन गर्ने योजना बनाइएको छ । अबको साढे २ वर्षमा जोमसोमको रनवेलाई ३ सय मिटर थप गरिने योजना रहेको छ । यसका लागि अध्ययन भइरहेको क्यानले जनाएको छ ।

 

रामेछाप विमानस्थल

 

रामेछाप विमानस्थलमा हाल ५ सय ३० मिटर लामो रनवे रहेको छ । मास्टर प्लान अनुसार यसलाई विस्तार गरेर १ हजार मिटरमा स्तरोन्नति गरिने छ । रनवेको स्तरोन्नति पछि यस विमानस्थलमा एटीआर ४२ ६०० विमान समेत सञ्चालन गर्न सकिने छ ।

 

विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्नुका साथै कन्ट्रोल टावर निर्माण गरिने योजना रहेको छ । विमानस्थर स्तरोन्नतिका लागि २१ बिघा जमिन अधिग्रहण गर्नुपर्ने भएको छ । यस विमानस्थलको स्तरोन्नतिका लागि ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

 

जुम्ला विमानस्थल

जुम्ला विमानस्थलमा रनवे कालोपत्रको काम पूरा गरिसकिएको छ । विमानस्थलको रनवेलाई आगामी समयमा ११ सय मिटरमा स्तरोन्नति गरिने छ । विमानस्थललाई एटीआर४२ ६०० विमान धान्न सक्ने गरि स्तरोन्नति गरिँदै छ ।

 

सिमीकोट विमानस्थल

 

सिमीकोट विमानस्थलमा टर्मिन भवन निर्माणको काम सम्पन्न भएको छ । धावनमार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलमा ३ डिएचसी–६ जस्ता विमानहरु पार्क गर्न सक्ने गरी पार्किङ स्थल निर्माण गरिने भएको छ । यसका लागि कुल २० करोड लागत अनुमान गरिएको छ ।

 

रारा विमानस्थल

 

यस विमानस्थलमा टर्मिनल भवन र कन्ट्रोल टावर निर्माण गरिँदै छ । रनवे विस्तारका लागि भने सम्भावना नभएकाले त्यसमा केही भएको छैन । यसमा हाल बन्ने भौतिक निर्माणका लागि १४ करोड लागत अनुमान गरिएको छ ।

 

ताप्लेजुङ विमानस्थल

 

ताप्लेजुङ विमानस्थलमा हाल ७ सय मिटरको रनवे रहेको छ । यसलाई ८ सय ५० मिटरमा स्तरोन्नति गर्न लागिएको हो । यसका लागि ८ करोड लागत अनुमान गरिएको छ । रनवे स्तरोन्नति पछि यस विमानस्थलमा एटीआर ४२ ६०० जस्ता विमानहरु सञ्चालन गर्न सकिने छ ।

 

यसका साथै साँफेबगर विमानस्थल, लामिडाँडा विमानस्थल, खिजी–चन्द्रेस्वरी विमानस्थल, इलाम विमानस्थल, गुल्मी विमानस्थल, बैतडी विमानस्थल, बजाङ विमानस्थल, रुम्जाटार विमानस्थल, डोटी विमानस्थल, फाप्लु विमानस्थल, डोल्पा विमानस्थल, खानीडाँडा विमानस्थल, थमखर्क विमानस्थल, कालिकोट विमानस्थल, महेन्द्रनगर विमानस्थल लगायतका विमानस्थलहरु स्तरोन्नति गरिने भएका हुन् ।

निगमको नारितामा व्यावसायिक उडान शुरु Read Previous

निगमको नारितामा व्यावसायिक उडान शुरु

सिभिल बैंकको नयाँ शाखा काठमाडौंको बांगेमुढामा Read Next

सिभिल बैंकको नयाँ शाखा काठमाडौंको बांगेमुढामा