काठमाडौं । गत साता करिब २०० अंकले बढेको सेयर बजारमा यो साताको पहिलो दिन उच्च अंककको गिरावट आएको छ । कारोबार रकमले हालसम्मकै सर्वाधिकको कारोबारको रेकर्ड राखेको दिन सूचक भने करीब ४१ अंकले घटेको छ ।
आज नेपाली सेयर बजारकै इतिहासमा सर्वाधिक ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको कारोबार भएको छ । यसअघि सर्वाधिक कारोबारको रेकर्ड गत बिहीबार (फागुन १५ गते) बनेको थियो । त्यसदिन ४ अर्ब ४६ करोड बराबरको शेयर किनबेच भएको थियो ।
आइतबार सेयर बजार मापक सूचक नेप्से ४०.८२ अंकले घटेर १५९१.३६ विन्दुमा आइपुगेको छ । यसदिन १८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबार भएका १२ समूहमध्ये फाइनान्स समूह बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ४७४.६१ अंकले घटेको छ ।
आज कारोबार रकमका आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको २६ करोड ६३ लाख ७४ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, ग्लोबल आइएमई बैंक, नेपाल लाइफ र एनआईसी एशिया बैंकको पनि २० करोडभन्दा बढीको कारोबार भएको छ ।
आइतबार ३ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । मितेरी डेभलपमेन्ट र मन्जुश्री फाइनान्सको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल तराईको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।