सडक छेउका पोलमा झुन्डाइएका ७० प्रतिशत तार प्रयोगविहीन

काठमाडौं । काठमाडौं उपत्यकाका सडक छेउका प्रायः हरेक पोलमा झुन्डिएका बिजुली, इन्टरनेट, केबल लगायतका तारले सहरलाई कुरुप बनाएको छ । यसले एकातिर सहरको सौन्दर्यतामा असर पुर्याएको छ भने अर्कोतिर जनताले सास्ती भोग्नु परेको छ ।

 

यसरी पोलमा झुन्डिएका तारमध्ये अधिकांश तारहरू उपयोगीभन्दा पनि प्रयोगविहीन तारहरू रहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषेतम खनालका अनुसार पोलमा असरल्ल तारहरू ६० देखि ७० प्रतिशत सम्म प्रयोगविहीन रहेका छन् ।

 

तार परिवर्तन गर्ने बेलामा पुरानो तार ननिकाली त्यसैमा अन्य तार थप्दै जाँदा प्रयोगविहीन तारकोको संख्या बढेको र यसले व्यवस्थापनमा समस्या ल्याएको उनले बताए । ‘पोलहरूमा तार असाध्यैै अव्यवस्थित छन्, जुनसुकै निकायले पनि नयाँ तार राख्ने बेला पुराना तार हटाउँदैनन्, त्यसमै थप्दै जान्छन्, हाल ६० देखि ७० प्रतिशत तारहरु प्रयोग विहीन रहेका छन्,’ अध्यक्ष खनालले भने ।

 

काठमाडौं महानगरपालिकाले उपत्यकाका मुख्य स्थानहरुमा असरल्ल तारहरु हटाउने भने पनि अहिलेसम्म प्रभावकारी ढंगले काम अगाडि बढ्न सकेको छैन ।

 

उनका अनुसार टेलिकमको तार मात्र नभई केबल, टिभी, सुरक्षा नीकायले क्यामेरा राख्ने क्रममा राखेका तारहरु पनि थुप्रिएको छन् । तार व्यवस्थापनका लागि धेरै पटक समन्वयन गरौँ भनिए पनि त्यसो हुन नसकेको उनले गुनासो गरे ।यस्तै काठमाडौं महानगरपालिकाले उपत्यकाका मुख्य स्थानहरुमा असरल्ल तारहरु हटाउने भने पनि अहिलेसम्म प्रभावकारी ढंगले काम अगाडि बढ्न सकेको छैन ।

 

महानगरपालिकाले सडक किनारमा रहेका विद्युत्/टेलिकम पोलमा जडान भएका विभिन्न किसिमका जडित तारहरु यत्रतत्र छरिएर सहरलाई अशोभनिय बनाएको भन्दै तार हटाउन निर्देशन दिएको थियो । लत्रिएका तारहरुले सडक पेटीमा दुर्घटना निम्त्याउने र तारमा आगोलागी भएर ठूला जनधनको क्षति हुने भन्दै महानगरले दूरसञ्चार प्राधिकरलाई तारहरु हटाउन सम्बन्धित संस्थालाई निर्देशन दिन आग्रह गरेको थियो ।

 

महानगरले जडान भएका अनावश्यक तार हटाउन विभिन्न निकायहरुलाई ६ महिनाभित्र व्यवस्थित गर्ने निर्देशन दिएको थियो । सो निर्देशन अनुसार हालसम्म न्यून मात्रामा काम भएको छ । असरल्ल तार बेरेर गुजुल्टो पार्ने काम भए पनि प्रयोगविहीन तार हटाउने काम भने अझै हुन सकेको छैन् ।

 

हाल महानगरले कलंकीदेखि त्रिपुरेश्वर, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, माइतीघरमण्डलादेखि पुलतीसडक, जय नेपाल हल हुँदै नागपोखरी, नक्साल, बालुवाटार, माइतीघर तीनकुने हुँदै कोटेश्वरतर्फ र सिंहदरबारको पूर्वी साइड अनामनगर, थापागाउँ हुँदै नयाँबानेश्वरसम्म तार व्यवस्थापन गरिरहेको छ । महानगरले तार व्यवस्थापन गरिरहेको भने पनि भने जस्तो असरल्ल तारहरु भने हटेको देखिएको छैन ।

 

यसैगरी सौन्दर्य बिगारेको भन्दै स्थानीयले तार काट्ने काम सुरु गरेको थियो । तार काट्ने क्रममा इन्टरनेटको तारसमेत काटिएपछि त्यसको धेरै विरोध भएको थियो । हाल सो काम ठप्प भएको छ ।

 

यस्तै, विद्युत् प्राधिकरणले रत्नपार्क र महाराजगञ्जमा बिजुलीका तर भूमिगत गर्ने काम सुरु गरेको छ । प्राधिकरणले फागुन ५ गते प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन गराई तार भूमिगतको काम गरिरहेको छ ।

 

विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत् वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन ।

 

विजुलीका तार भूमिगतको काम २०७८ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रका विद्युतीय तारहरु भूमिगत गर्न लागिएको हो ।

‘बैंकिङ गतिविधिमा वित्तीय समावेशीता हुनुपर्छ’ Read Previous

‘बैंकिङ गतिविधिमा वित्तीय समावेशीता हुनुपर्छ’

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै Read Next

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै