काठमाडौं । अर्थ मन्त्रालयले पूर्वाधार विकास कर बढे पनि इन्धनको मूल्य भने नबढ्ने बताएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वाधार विकास करको दर बढाइए पनि सो दर पुनरावलोकन गर्दा हाल बजारमा कायम उपभोक्ता मूल्यमा भने कुनै प्रभाव नपर्ने स्पष्ट पारेको हो ।
मन्त्रीपरिषद्को यही फागुन १२ गतेको बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर उठाउने निर्णण गरेको थियो । बढाइएको करले आयल निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नपर्ने भएकाले इन्धनको मूल्य नबढ्ने मन्त्रालयको भनाइ छ ।
समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा राख्दा हाल तेलको मूल्य नबढ्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार आर्थिक ऐन, २०७६ को दफा ९ मा नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार बिन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिनुपर्ने अवस्था देखिएकोले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार सरकारले नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलको पूर्वाधार कर दरमा पुनरावलोकन गरेको थियो ।
हाल नेपाल आयल निगमको नाफा एवम् वित्तीय अवस्था सहज भएको र अब सिर्जना हुने निगमको नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त हुने देखिएकोले करको दरमा परिमार्जन गर्दा उपभोक्ता मूल्यमा वृद्धि नगरीकन नै निगमको अवस्था सुदृढ रहने मन्त्रालयको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा केही समयदेखि कच्चा तेलको प्रति ब्यारेल मूल्य क्रमशः घट्दै गएको अवस्था छ । नेपालमा पेट्रोलियम इन्धनको स्वचालित मूल्य प्रणाली लागू गरिए पनि खुला सीमानाका कारण भारतीय बजारमा प्रचलित मूल्य समेतलाई आधार मानी मूल्य समायोजन गर्न अनिवार्य हुने मन्त्रालयको दाबी छ ।