काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक’लाई स्वीकृत गरेको छ ।
सदनको मंगलबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगी निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरेपछि सदनले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
उक्त विधेयक अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ भदौ २५ गते संसदमा पेश गरेका थिए ।
यस्तै, आजको बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीका तर्फबाट समितिका सदस्य जीवनराम श्रेष्ठले ‘राष्ट्रिय खेलकूद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश गरे ।