काठमाडौं। नेपालको विद्युत् वितरण प्रणालीको स्तरोन्नतिका लागि यूरोपियन यूनियन (ईयू) ले ऋण सहायता उपलब्ध गराउने भएको छ । युरोपली लगानी बैंकले नेपाल सरकारलाई कुल १२ अर्ब ४१ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने अर्थ मन्त्रालयले जानकारी गराएको हो । उक्त ऋण विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तार आयोजना कार्यन्वयनका लागि प्रयोग गरिने छ ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र युरोपेली लगानी बैंकका निर्देशक मारिया बारागन र कानूनी सल्लाहकार बोर्जा ओक्जाङ गोइटीले हालै ऋण सहायतासम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर गरिसकेको मन्त्रालयले बताएको छ ।
अर्थ मन्त्रालयका अनुसार ऋण सहायतास्वरुप प्राप्त उक्त रकम प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खर्च गरिने छ । उक्त रकमबाट त्यस क्षेत्रका जनताको बिजुलीमा पहुँच बढाउने, विद्युत् आपूर्तिको गुणस्तर एवम दक्षता अभिवृद्धि गर्ने र ऊर्जा व्यापारलाई सहजीकरण गरी विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरणले सन् २०२३ को डिसेम्बरसम्ममा उक्त आयोजना पूरा गर्ने लक्ष्य लिएको अर्थ मन्त्रालयले जनाएको छ ।