चाबहिल-साँखु सडकः थली बाहेक सबै ठाउँमा यही आवभित्र पीच हुने

काठमाडौं । चाबहिल–साँखु सडकखण्ड अन्तर्गत थली बजारको सडक निर्माणको काम अलपत्र पर्ने भएको छ । चाबहिल–साँखु सडकमा धमाधम काम भइरहँदा थलीमा स्थानीयले मुआब्जा नपाएपछि निर्माणमा अवरोध गरेका हुन् ।

 

उपत्यका विकास आयोजनाका अनुसार चाबहिल–साँखु सडक खण्ड यही चालू आर्थिक वर्षभित्र सबै निर्माण पूरा हुने छ । तर, थली बजार नजिकै रहेको सडक निर्माण भने पूरा नहुने देखिएको हो ।

 

थली बजारको झण्डै ५ सय मिटर सडकखण्डमा स्थानीयले जग्गा सहितको मुआब्जा माग गरेका छन् । आयोजनाका इन्जिनीयर लक्ष्मण देवकोटाले उक्त सडकका लागि मुआब्जा दिन हाल आयोजनासँग बजेट नभएको बताए ।

 

‘चाबहिल–साँखुमा सबै काम यही वर्षभित्र सकिन्छ तर, त्यसमा थलीको काम चाँहि समयमै पूरा नहुन पनि सक्छ । यसमा अझै अवरोध नै छ । अरु सबै ठाउँमा यहि आवमा कालोपत्रे हुन्छ,’ देवकोटाले चाणक्य पोष्टसँग भने ।

 

मुआब्जाको रकम नदिइ स्थानीयले निर्माण गर्न नदिने भएपछि सो खण्डको काम रोकिएको हो ।

 

उनले अन्य खण्डमा निर्माण पूरा  गर्नका लागि निर्माण कम्पनीसँग कुरा भइसकेको जानकारी दिए । उनले निर्माण कम्पनीले ढिलोमा यही आर्थिक वर्षभित्र सक्ने गरी प्रतिबद्धता गरेको बताए ।

 

विगत ५ वर्षदेखि विभिन्न कारणले पूरा हुन नसकेको चाबहिल–साँखु सडक खण्ड निर्माण अब भने पूरा हुने भएको छ । कुल लम्बाई १२.५०० किलोमिटरको यो सडकखण्ड स्थानीय बासिन्दाको विरोधका कारण पटक–पटक अवरोध भएको थियो ।

 

२०७२ असोज १३ गते ठेक्का सम्झौता भएको सो सडकखण्ड ५ वटा कम्पनीलाई विस्तारका लागि जिम्मा दिइएको छ । उक्त खण्डमा ६० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

 

सडक विस्तार गर्दा धेरै भौतिक संरचना भत्काउनु पर्ने भएको थियो भने विभिन्न स्थानमा स्थानीयहरुले घर भत्काउनु पर्ने भएपछि अवरोध सृजना भएका थिए । स्थानीयको चर्को विरोधले आयोजनाले सडक विस्तारका लागि आवश्यक जग्गा विकास गर्न सकिरहेको थिएन । केही ठाउँमा मुआब्जा पछि सडक विस्तार भए पनि केही स्थानमा भने त्यो नहुँदा हाल आयोजनाले घर भत्काउन नमान्नेका स्थानमा सोही अवस्थामै सडक कालोपत्रे गर्न सुरु गरेको हो

 

उक्त सडक २०७५ पुस महिना भित्र विस्तार सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि हालसम्म म्याद थप हुँदै काम भइरहेको छ । २०७२ सालमा निर्माणका लागि हस्तान्तरण गरिएको सो सडक खण्ड २०७४/७५ मै सम्पन्न गर्ने भनिए पनि पूरा हुन नसकेपछि फेरी २०७६ सम्म निर्माण सक्ने गरी म्याद थप गरिएको हो ।

 

कुन ठेकेदारले कति काम गरे

 

आयोजनाले चाबहिल–साँखु सडक खण्डलाई पाँचवटा प्याकेजमा ठेक्का लगाएर विस्तारका लागि जिम्मा दिएको हो ।

 

युनाइटेड विल्डर्स एण्ड इन्जिनीयर्सले निर्माण गर्दै गरेको ३.६०० किलोमिटर सडक खण्ड निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म ७५ प्रतिशत काम सकिएको छ । ३७ करोड ५३ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म ३२ करोड २२ लाख २९ हजार रुपैयाँ खर्च भइसकेको कम्पनीले जनाएको छ ।

 

बज्रगुरुच्याङमिला खानीले ठेक्का लिएको २.४०० किलोमिटर सडक खण्डमा हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ । सो सडक निर्माणका लागि ३६ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म सो निर्माण कम्पनीले २५ करोड ४६ लाख १९ हजार रुपैयाँ खर्च गरिसकेको छ ।

 

यस्तै, बज्रगुरु बिरुवा खानीले जिम्मा लिएको ३ किलोमिटर सडक खण्डमा हालसम्म ५५ प्रतिशत मात्र काम भएको छ । कुल ठेक्का आयोजनाको लागत ५० करोड ७१ लाख ४४ हजार रुपैयाँ रहेकोमा हालसम्म २४ करोड ९३ लाख २३ हजार रुपैयाँ खर्च भइसकेको छ ।

 

बी.टी. सुनकोशी वल्र्डवाइड जेभीले २.४६० किलोमिटर सडक खण्डमा निर्माण गरिरहेको छ । सो खण्डमा हालसम्म ६० प्रतिशत सडक निर्माणको काम सम्पन्न भएको छ । निर्माण कम्पनीलाई ३२ करोड २६ लाख ९८ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का जिम्मा दिइएको थियो । सो लागत अन्तर्गत हालसम्म १८ करोड ८१ लाख ३५ हजार रुपैयाँ खर्च भइसकेको छ ।

 

यसैगरी लामा समानातर जेभीले भने आफुले जिम्मा लिएको १.०४० किलोमिटर खण्डमा सय प्रतिशत काम सम्पन्न गरिसकेको छ । सो निर्माण कम्पनीले ११ करोढ २९ लाख ५२ हजार रुपैयाँमा निर्माण ठेक्का लिएको थियो भने उसले ११ करोड ४९ हजार लागतमा निर्माण सम्पन्न गरेको आयोजनाले जनाएको छ ।

 

चाबहिल–साँखु सडक खण्ड विस्तार २०७६ पुस भित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख भए पनि पुस र माघमा जाडो महिनाका कारण सम्पन्न नभए पछि उनीहरुलाई थप समय दिइएको हो । आयोजनाले चैत मसान्तसम्म सक्न भने पनि निर्माण कम्पनीले यही आव भित्र सम्पन्न गर्ने भनेका हुन् ।

 

चाबहिलदेखि दक्षिण ढोकासम्मको सडक १० मिटर चौडाई र दक्षिण ढोकादेखि साँखुसम्म ६ मिटर चौडाईको सडक थियो । सो सडकलाई २२ मिटरमा विस्तार गर्न लागिएको हो । सडक विस्तारका क्रममा १६ मिटरसम्म सडक खाली गर्नुपर्ने अवस्था आएको थियो ।

 

सडक विस्तार गर्दा धेरै भौतिक संरचना भत्काउनु पर्ने भएको थियो भने विभिन्न स्थानमा स्थानीयहरुले घर भत्काउनु पर्ने भएपछि अवरोध सृजना भएका थिए । स्थानीयको चर्को विरोधले आयोजनाले सडक विस्तारका लागि आवश्यक जग्गा विकास गर्न सकिरहेको थिएन ।

 

केही ठाउँमा मुआब्जा पछि सडक विस्तार भए पनि केही स्थानमा भने त्यो नहुँदा हाल आयोजनाले घर भत्काउन नमान्नेका स्थानमा सोही अवस्थामै सडक कालोपत्रे गर्न सुरु गरेको हो ।

 

सडक विस्तारका लागि समयमै आवश्यक जग्गा उपलब्ध हुन नसक्दा निर्माणले गति लिन सकेको थिएन भने हाल यथास्थितीमा काम सुरु भएपछि निर्माणले गति लिन थालेको हो ।

 

चाबहिल–साँखु निर्माणका मुख्य समस्याहरु

 

चाबहिल–साँखु सडक विस्तार गति लिन नसक्नुमा सबैभन्दा ठूलो समस्या स्थानीयको अवरोध नै बन्न गएको छ । स्थानीयले सडक विस्तार गर्दा सुकुम्बासी हुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

 

अदालले सडक विस्तार गर्ने क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा र भत्किने भौतिक संरचनाको उचित मूल्य दिन आदेश दियो । त्यसपछि पुर्ननिर्माणले गति लिन थालेको छ ।

 

यति मात्र नभई मेलम्ची खानेपानी आयोजनाको पाइपलान विस्तार, टेलिफोन र बिजुलीको पोल, ढल, मुआब्जा विवाद लगायत समस्याले लामो समय सम्म चाबहिल–साँखुको निर्माणाधिन सडकको धुलो धुवा जनताले खानु परेको छ । सडक निर्माण गर्न खनिएका खाल्डाका कारण सवारीसाधनको आवागमनमै समस्या भइरहेको छ ।

स्थानीय तहका जनप्रतिनिधिले अब तलब लिन नपाउने Read Previous

स्थानीय तहका जनप्रतिनिधिले अब तलब लिन नपाउने

अबदेखि बजेटमा आफ्ना कार्यक्रम पार्न भनसुन नचल्ने, यस्तो छ सुधारको प्रक्रिया Read Next

अबदेखि बजेटमा आफ्ना कार्यक्रम पार्न भनसुन नचल्ने, यस्तो छ सुधारको प्रक्रिया