काठमाडौं । तिनकुनेमा बन्ने ‘आर्क ब्रिज’ निर्माण अन्योलमा पर्ने भएको छ । पप्पुलाई कालो सूचीमा राखिए पछि पप्पुले अदालतमा मुद्दा दायर गरेको छ । पप्पुले आफू कालो सूचीमा नपर्नुपर्ने र नियतवश कालो सूचीमा पारिएको भन्दै मुद्दा दायर गरेको हो ।
अब सो मुद्दाको टुंगो नलागेसम्म यसका बाँकी प्रकृया समेत अघि बढाउन नसक्ने काठमाडौं उपत्यका विस्तार आयोजनाका इन्जिनियर लक्ष्मण देवकोटाले बताए । उनका अनुसार तिनकुनेको पुल निर्माणका लागि ठेक्का प्रकृयामा जान अझै समय लम्बिने छ ।
‘नयाँ ठेक्का गर्न त्यती सहज छैन । सुरुमा पप्पुले मुद्दा गरेको छ, त्यो टुंगो लाग्नु पर्यो । उसले मलाई नियतबस कालोसूचीमा हालियो भनेको छ । त्यो मुद्दा टुंगो नलागी अरु प्रकृया सुरु हुँदैन,’ देवकोटाले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार मुद्दापछि पप्पु कन्स्ट्रक्सन र आयोजना बीचको लेनदेनको काम पूरा हुनुपर्ने हुन्छ । पप्पुलाई दिन बाँकी रहेको रकम वा उसको क्षति अनुसारको रकम समेत दिनुपर्ने हुन सक्ने उनले बताए । उनले लिने दिने कुरा टुंगो लागेपछि बल्ल डिजाइन ‘एप्रुभ’को प्रकृया अघि बढ्ने बताए ।
‘अहिलेको स्ट्रक्चरमै बनाउने कि त्यसलाई के गर्ने त्यो टुंगो लाग्नु पर्यो । नयाँ डिजाइनमा बनाउने कि पुरानै डिजाइनमा बनाउने त्यो सब टुंगो लागेपछि मात्र ठेक्काको कुरा सुरु हुन्छ,’ देवकोटाले भने । उनले ठेक्का प्रकृयाको काम सुरु हुन आगामी वर्ष समेत मुस्किल हुने बताए ।
‘सकेसम्म ठेक्का नतोडी काम अघि बढाउँदा राम्रो हुने हो तर, यहाँ तोड्नै पर्ने अवस्था आएपछि तोडिएको हो,’ उनले भने ।
आयोजनाले डिजाइन अनुसार कार्य नगरेको र लामो समयसम्म कार्यस्थलमा अनुपस्थित रहेको भन्दै पप्पुसँग ठेक्का तोडेको हो ।
२१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । यसरी विगत लामो समयदेखि अलपत्र परेको तिनकुनेको आर्क ब्रिज अझै लामो समयसम्मका लागि अलपत्र पर्ने देखिन्छ । सो निर्माण अझै २ वर्षसम्म अघि बढ्न नसक्ने अनुमान गरिएको छ ।
पप्पुसँग २०७१ पुस ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो । सो अनुसार फेरी ०७७ सालको असारसम्मका लागि म्याद थप गरिएको थियो । म्याद थप गर्दा समेत पप्पुले केही काम अघि नबढाउँदा उसँग ठेक्का तोडिएको हो । सो अवधिसम्म पप्पुले २५ प्रतिशतभन्दा बढि काम गर्न सकेको थिएन ।
पप्पुलाई बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत उसले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।
आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरु गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो ।
पप्पुले गरेको काममा त्रुटि पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन ।
एपीजी फिर्ता लिने क्रममा समेत सो विरुद्ध पप्पुले मुद्दा गरेको थियो । पप्पुले अदालतसँग ‘स्टेअर्डर’को माग गर्दै मुद्दा दायर गरेको थियो । अदालतबाट मुद्दाको फैसला नआएपनि आयोजनाले सो रकम फिर्ता लिन सफल भएको थियो ।
पप्पुले ‘पर्फमेन्स फन्ड’ समेत फिर्ता दिनुपर्नेछ । सो फन्ड फिर्ता गर्दा पप्पुले ठेक्काको ५ प्रतिशत रकम फिर्ता गर्नुपर्ने छ । सो रकम उसको सजाय स्वरुप आयोजनाले लिनुपर्ने छ । सो रकम मुद्दा हारे पछि पप्पुले आयोजनालाई दिनुपर्ने हुन्छ ।
२१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । यसरी विगत लामो समयदेखि अलपत्र परेको तिनकुनेको आर्क ब्रिज अझै लामो समयसम्मका लागि अलपत्र पर्ने देखिन्छ । सो निर्माण अझै २ वर्षसम्म अघि बढ्न नसक्ने अनुमान गरिएको छ ।
पप्पुको कमजोरी
यो पुलमा काम गर्ने क्रममा १६ वटा पायल मध्ये २ वटा पायल जमिनमा भासिएको देखिएको छ । सरकारले यो समस्यालाई समाधान गरेर निर्माण गर्ने भनेर पप्पुलाई पत्र दिएको थियो । तर, पप्पुले त्यसै माथि क्याब लगाउने र सब स्ट्रक्चर समेत बनाएको छ । त्यसपछि सो पुल निर्माण गर्दा जोखिम बढ्ने हुँदा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्यो फेरी भत्काएर बनाउन निर्देशन दिएको थियो ।
पप्पुले सो निर्देशन पालना नगरेपछि उक्त पुलको काम अघि बढ्न सकेको थिएन । आयोजनाले बारम्बार पप्पुलाई निर्माण तोडेर नयाँ डिजाइनमा पुल बनाउन भने पनि पप्पुले अटेरी गरेको हो । पप्पुले फाउन्डेसन नमिलाई त्यस माथिनै थप काम गरेको थियो ।
८५ मिटर लामो आर्क ब्रिज निर्माणमा पप्पुले हालसम्म २५ प्रतिशत काम मात्र पूरा गरेको छ ।