काठमाडौं । गोङ्गबुमा पानी पुर्नभरण प्रणाली सुरु भएको छ । गोङ्गबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत सहरी बिकास केन्द्रको प्राबिधिक सहयोगमा यो प्रणाली स्थापना गरिएको हो । उक्त प्रणाली महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् । सो क्षेत्रमा यो प्रणाली मार्फत १ रोपनी जग्गामा जम्मा भएको पानी जमिनमुनि पठाउने व्यवस्था मिलाइएको छ । उक्त स्थानमा रहेका टहरामा आकाशे पानी संकलन बिधि जडान गरिएको हो ।
मेयर शाक्यले उद्घाटनका क्रममा ‘रिचार्ज काठमाडौं’ को नमूना योजना शुरु भएको बताए । ‘यो हाम्रा लागि सिकाइ पनि हो । यसबाट प्राप्त भएको परिणाम मुल्याङ्कन गरेर हामी महानगरका सबै वडा र सार्वजनिक तथा खुल्ला जग्गामा पानी पुर्नभरण प्रणाली जडान गछौं,’ शाक्यले भने ।
यस क्षेत्र (क्याचमेन्ट) मा जम्मा भएको पानी ‘क्याचफिट’मा जम्मा हुन्छ । यसरी पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएको छ । त्यहाँबाट पानी पुर्नभरण इनार (रिचार्ज वेल) मा जान्छ । डवलीको खाली ठाउँमा २ वटा पुर्नभरण इनार बनाइएको छ । दुई वटा इनार मध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ ।
२४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ । त्यसभन्दा माथि ३ फिटमा त्यो भन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ । जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ ।
उपत्यकामा करीब ७५० वटा भन्दा बढी कम्पनीले भूमिगत पानी निकालिरहेको अनुमान छ । जसमध्ये अनुमति प्राप्त करिब २०० वटा डिप बोरिङहरू छन् । यिनै व्यवसायीहरूबाट उपत्यकावासीले दैनिक करिब ३ करोड रुपियाँको पानी किनेर उपयोग गरिरहेका छन्
डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । यहाँ एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ । यी दुवै ठाउँमा प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको वातावरण व्यवस्थापन बिभागकी इञ्जिनियर निशा कोइरालाले बताइन । इञ्जिनियर कोइरालाका अनुसार यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुर्नभरण हुने अपेक्षा गरिएको छ ।
सर्वसाधारणले गहिरा ट््युबेलबाट पानी निकालेर जीविका चलाउन थालेपछि काठमाडौंको जमिनमा पानीको मात्रा क्रमश घट्दै गएको बिभिन्न समयमा गरिएका पानीको सतह मापन अध्ययनले देखाएका छन् । यसैकारण पानी भेटिने गहिराई बढ्दै गएको छ । गएका बर्षहरुमा प्रतिमिनेट १ हजार लिटर पानी उत्पादन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का ट््युबेलहरुमा अहिले प्रतिमिनेट ७०० लिटर पानी प्राप्त हुनुले पनि अवस्थाको गम्भिरतालाई देखाउँछ ।
काठमाडौं महानगरको करीब ८३ प्रतिशत जमिन घर वा कुनै न कुनै प्रकारको भौतिक संरचनाले ढाकेको अनुमान छ ।
सन् १९९० तिर जाइकाले गरेको अध्ययनले काठमाडौैं उपत्यकामा दैनिक डेढ करोड लिटरभन्दा बढी निकालिएमा भूमिगत पानीको सतह घट्न गई प्राकृतिक सन्तुलन बिग्रने खतरा देखाएको थियो ।
काठमाडौँ उपत्यकाको खानेपानीको वितरणको जिम्मा पाएको केयुकेलले २०० मिटर गहिरा करिब ८० वटा डीप बोरिङमार्फत मात्र दैनिक करिब आठ करोड लिटर पानी निकालिरहेको छ । यो भनेको उपत्यकाको वर्तमान पानीको पुर्नभरण (रिचार्ज) को दुई गुणा बढी हो । निजी क्षेत्रले सञ्चालन गरेका खानेपानी सम्बन्धि उद्योगहरुले ठूला मेसिन तथा गहिरो ट््युबबेल प्रयोग गरेर पानीको दोहन गरिरहेका छन् ।
आधिकारिक तथ्याङ्क नभएपनि उपत्यकामा करीब ७५० वटा भन्दा बढी कम्पनीले भूमिगत पानी निकालिरहेको अनुमान छ । जसमध्ये अनुमति प्राप्त करिब २०० वटा डिप बोरिङहरू छन् । यिनै व्यवसायीहरूबाट उपत्यकावासीले दैनिक करिब ३ करोड रुपियाँको पानी किनेर उपयोग गरिरहेका छन् ।