काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे नवनियुक्त अर्थसचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेको छ । आज अर्थ मन्त्रालयमा ढुंगानालाई शुभकामना दिँदै परिसंघको प्रतिनिधि मण्डलले उनको कार्यकालमा समग्र अर्थतन्त्र र निजी क्षेत्रको विकास तथा प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले भारतीय बजेटको प्रभाव मूल्यांकन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको सृजना गर्नुपर्ने, चीनमा देखापरेको कारोना भाइरसका कारणले कच्चा पदार्थ तथा तयारी वस्तुको आयात निर्यात र पर्यटन उद्योगमा परेको नकारात्मक असरलाई नियाल्नु पर्ने अवस्था आएको बताए ।
यसैगरी निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएकोतर्फ पनि अध्यक्ष मोरले ध्यानाकर्षण गराए ।
अर्थसचिव ढुंगानाले भारतको नयाँ बजेटको नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव मूल्यांकन गर्न अध्ययन समितिले काम पूरा गर्न लागेको र त्यसले दिने सुझावलाई कार्यान्वयन गर्ने जानकारी गराए । चीनमा देखा परेको कोरोनाका कारण उद्योग, व्यापार तथा सेवा क्षेत्र र विकासका काममा परेको असर कम गर्ने उपायमाथि छलफल भइरहेको बताए ।
‘आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन तथा रोजगारी सृजना गर्ने उद्योगका लागि थप सहुलियत दिने विषयमा नीतिगत सुधारका लागि अन्तर्मन्त्रालय समन्वयको काम भइरहको छ,’ उनले भने । परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि ढुंगानाले विश्वास दिलाए ।
सो छलफल कार्यक्रममा परिसंघका अध्यक्ष मोरसहित परिसंघका पदाधिकारीहरु, गभर्निङ काउन्सिल तथा राष्ट्रिय परिषद्का सदस्य, उद्योगी, व्यवसायीहरुको उपस्थिति थियो ।