पुराना कम्पनीलाई टक्कर दिँदै नयाँ जीवन बीमा कम्पनी

काठमाडौं । २ वर्षअघि देखि सञ्चालनमा आएका नयाँ जीवन बीमा कम्पनीहरूले व्यापार, नाफालगायत सूचकमा पुराना कम्पनीलाई टक्कर दिएका छन् ।

 

सञ्चालनमा आएको छोटो समयमै आक्रमक व्यापार विस्तार गर्दै नयाँ कम्पनी ३ दशकभन्दा लामो ‘लिगेसी र ब्रान्ड’ भएका पुराना कम्पनीको मुख्य प्रतिस्पर्धीका रूपमा स्थापित हुँदै गएका छन् ।

 

बीमा क्षेत्रमा नयाँ कम्पनीहरूले आक्रमक व्यापार शैली अपनाउँदै गएको देखिन्छ । जसले गर्दा उनीहरू सञ्चालनाको दोस्रो वर्षमै केही पुराना कम्पनीकै हाराहारीमा नाफा कमाउन सफल भएका छन् ।

 

जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार पुराना र नयाँ बीमा कम्पनीको विभिन्न सूचकको अवस्था तल प्रस्तुत गरिएको छ ।

 

खुद नाफा

 

१९ बीमा कम्पनीले कुल २ अर्ब १५ करोड खुद नाफा कमाएका छन् । जसमा पुराना ९ कम्पनीले १ अर्ब ३३ करोड कमाएका छन् भने नयाँ १० कम्पनीले ८२ करोड नाफा कमाएका छन् ।

 

चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा नेपाल लाइफ इन्स्योरेन्सले कमाएको छ । नेपाल लाइफले गत आवको तुलनामा नाफा २५ प्रतिशतले वृद्धि गर्दै कुल ३५ करोड ९ लाख पुर्याएको छ ।

 

यस्तै, धेरै नाफा कमाउने सूचीको दोस्रोमा नेशनल लाइफ छ । नेशनलले दोस्रो त्रैमाससम्ममा २३ करोड ५९ लाख नाफा कमाएको छ ।

रकम (रू. करोडमा)

 

धेरै नाफा कमाउनेको सूचीमा पहिलो र दोस्रोमा पुराना बीमा कम्पनी भए पनि नयाँ कम्पनी युनियन लाइफ इन्स्योरेन्स तेस्रो बनेको छ । युनियनले सञ्चालनको २ वर्षमै नाफामा पुराना ७ बीमा कम्पनीलाइ पछि पारेको वित्तीय विवरण प्रकाशित गरेकाे थियाे । तर उसले गलत विवरण छापेकाे विषय बाहिर आएकाे छ ।

 

यस्तै नयाँ कम्पनीहरू रिलायबलले १३ करोड २६ लाख र आइएमई लाइफले १० करोड ३ लाख खुदा नाफा कमाएका छन् । यो पुराना ३ कम्पनीको भन्दा धेरै हो ।

 

रकम (रू. करोडमा)

 

बीमालेख संख्या

 

दोस्रो त्रैमासिक विवरण अनुसार समीक्षा अवधिमा हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले कुल ५५ लाख २१ हजार ८१९ ओटा बीमालेख जारी गरेका छन् । जसमा पुराना कम्पनीले २८ लाख ९५ हजार ४०५ र नयाँ कम्पनीले २६ लाख २६ हजार ६१० बीमालेख जारी गरेका छन् ।

 

दोस्रो त्रैमासिक विवरण अनुसार बीमालेख संख्याका आधारमा नयाँ जीवन बीमा कम्पनी रिलायबल लाइफ सबैभन्दा अगाडि रहेको छ । रिलायबलले हालसम्म कुल १९ लाख ९२ हजार २७६ ओटा बीमालेख जारी गरेको छ । यद्यपि, कम्पनीले कुल बीमालेख संख्यामा वैदेशिक रोजगारी बीमा पनि समेटेकोले बीमालेख संख्या धेरै देखिएको हो ।

 

बीमालेखकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स समग्रमा दोस्रो तथा पुराना कम्पनीहरूमा पहिलो स्थानमा छ । नेपालले समीक्षा अवधिसम्ममा कुल १२ लाख ५८ हजार ५११ ओटा बीमालेख जारी गरेको छ । यो पुराना कम्पनीहरूमा सबैभन्दा धेरै हो । समीक्षा अवधिसम्ममा महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ६ हजार ७६९ बीमालेख जारी गरेको छ ।

 

बीमाकोष र प्रिमियम संकलन

यी दुवै सूचकमा पनि नेपाल लाइफ इन्स्योरेन्स नै शीर्ष स्थानमा छ । समीक्षा अवधिसम्ममा यसको बीमा कोषमा साढे ७७ अर्बभन्दा बढी रकम जम्मा भएको छ भने १३ अर्ब ९१ करोड खुद बीमा शुल्क संकलन गरेको छ ।

 

बीमाकोष धेरै हुनेमा दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ६१ अर्ब बीमाकोषमा जम्मा गरेको छ भने ७ अर्ब ६५ करोड खुद प्रिमिया संकलन गरेको छ ।

 

यस्तै नयाँ कम्पनीहरूमा सानीमा लाइफको बीमाकोषमा सबैभन्दा धेरै रकम जम्मा भएको छ । समीक्षा अवधिसम्ममा यसको कोषमा ६ अर्ब ७० करोड जम्मा भएको छ भने ४० करोड ७३ लाख खुद प्रिमियम संकलन गरेको छ ।

 

बीमाकोष र प्रिमियम संकलनका आधारमा प्रभु लाइफ सबैभन्दा अन्तिममा छ । यसको कोषमा ४१ करोड ७३ लाख रकम जम्मा भएको छ भने कुल १३ करोड ३० लाख प्रिमियम संकलन गरेको छ ।

 

रिजर्भ कोष

 

रिजर्भ कोषका आधारमा पनि नेपाल लाइफ नै सबैभन्दा बलियो देखिएको छ । यसको रिजर्भमा मात्रै २ अर्ब ६१ करोडभन्दा बढी सञ्चित छ । यस्तै, मेटलाइफको २ अर्ब २१ करोड, प्राइा लाइफको १ अर्ब ४ करोड सञ्चित छ ।

 

नयाँ कम्पनीहरूमा रिजर्भका आधारमा रिलायबल र युनियन लाइफ बलिया देखिएका छन् । यी दुवै कम्पनीको जगेडा कोषमा ५६ करोडभन्दा बढी रकम सञ्चित छ ।

 

सबैभन्दा कान्छो कम्पनीको रूपमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सकको कोष सबैभन्दा कम रहेको छ । यसको रिजर्भमा ५ करोड ७६ लाख सञ्चित छ ।

 

प्रतिशेयर आम्दानी (ईपीएस)

दोस्रो त्रैमासको वित्तीय विरण अनुसार जीवन बीमा कम्पनीहरूको औसत प्रतिशेयर आम्दानी १३.१० रुपैयाँ छ । १९ कम्पनीमध्ये ८ कम्पनीको ईपीएस १० रुपैयाँभन्दा माथि छ भने ६ कम्पनीको ईपीएस ५ रुपैयाँ माथि छ । दुई कम्पनीको ईपीएस ५ रुपैयाँभन्दा तल छ ।

 

प्रतिशेयर आम्दानीका आधारमा राष्ट्रिय बीमा संस्थान शीर्ष स्थानमा रहेको छ । यसको ईपीएस ३९.०६ रुपैयाँ छ । यस्तै, सबै पुराना कम्पनीलाई पछि पार्दै युनियन लाइफ इन्स्योरेन्स ईपीएसका आधारमा दोस्रो स्थानमा छ । यसको प्रतिशेयर आम्दानी २९.७५ रुपैयाँ छ ईपीएसमा रिलायबलले पनि पुरान कम्पनीलाई पछि पार्दै समग्रमा तेस्रोमो छ । यसको प्रतिशेयर आम्दानी १८.९४ रुपैयाँ छ ।

 

पुराना कम्पनीहरूमा गुँरास लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै छ । यसको ईपीएस १५.६७ रुपैयाँ । समीक्ष अवधिमा सबैभन्दा धेरै नाफा कमाएके नेपाल लाइफको ईपीएस १२.७७ रुपैयाँ छ ।   जीवन बीमा कम्पनीहरूमा प्रभु लाइफको ईपीएस सबैभन्दा कम १.६७ रुपैयाँ छ भने पुरान कम्पनीहरूमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको सबैभन्दा कम ३.८२ रुपैयाँ छ ।

 

प्रतिशेयर आम्दानी, बीमालेख संख्या, खुद नाफा लगायत सूचककमा पुरानाभन्दा नयाँ कम्पनीको वृद्धिदर तुलनात्मक रूपमा बढी देखिन्छ ।

 

चुक्ता पूँजी

 

१९ ओटा कम्पनीमध्ये हालसम्म ७ कम्पनीले मात्र बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याएका छन् । पुराना दुईसहित अझै १३ कम्पनीले अझै समितिले तोकेको चुक्ता पूँजी पुर्याएका छैनन् ।

 

नयाँ कम्पनीहरूले समितिले तोकेको चुक्ता पूँजी पुर्याउन केहीले साधरणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरिसकेका छन् । यस्तै केही त्यसको प्रक्रियामा छन् । आइपीओ निष्काशनपछि सबै नयाँ कम्पनीको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।

 

चुक्ता पूँजीका आधारमा नेपाल लाइफ सबैभन्दा ठूलो कम्पनी बनेको छ । हाल यसको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ छ ।   पुराना कम्पनीहरूमा गुँरास लाइफ र राष्ट्रि बीमा संस्थानले अझै चुक्ता पूँजी पुर्याएका छैनन् ।

 

दोस्रो त्रैमासिक विवरण अनुसार हाल गुँरासको चुक्ता पूँजी ९४ करोड र बीमा संस्थानको १८ करोड रुपैयाँ मात्र छ ।

 

नोट : प्रस्तुत तथ्यांकहरू बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार तयार गरिएको हो ।

देशकै ठूलो कालीगण्डकी जलविद्युत् बन्द Read Previous

देशकै ठूलो कालीगण्डकी जलविद्युत् बन्द

मेलम्ची खानेपानी आयोजनामा भौगोलिक सूचना प्रणाली शुरू Read Next

मेलम्ची खानेपानी आयोजनामा भौगोलिक सूचना प्रणाली शुरू