प्रधानमन्त्रीको साख जोडिएको रेल यातायात, कस्तो छ प्रगति

काठमाडौं । चालू आर्थिक वर्षमा रेल निर्माणको कामले गति लिन सकेको छैन । विभिन्न समस्याका कारण एकातर्फ रेलको काम डीपीआरमै अल्झेका छन् भने अर्कोतर्फ, भारत र चीनले कहिले गर्छन् भन्ने पर्खाइको अवस्थामा रहेको अवस्था समेत छ ।

 

रेल निर्माणका क्रममा चालू आवको ६ महिनामा २२ प्रतिशत मात्र प्रगती भएको केही दिन अघि सार्वजनिक भएको अर्धवार्षिक बजेट समीक्षामा उल्लेख भएको छ । चालू आवको पुस मसान्तसम्ममा रेल निर्माण तथा अध्ययनका लागि १ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ खर्च भएको उक्त अर्धवार्षिक समीक्षमा समावेश गरिएको छ ।

 

चालू आवका लागि रेल, मेट्रो तथा मोनो रेल निर्माणमा कुल ७ अर्ब ६९ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणका क्रममा पूर्वी खण्डमा काँकडभित्ताबाट विद्युतीय रेलमार्ग निर्माण सुरु गरी बाँकी खण्डको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने र त्यस पश्चात मध्य खण्ड र सुदुरपश्चिम खण्डबाट समेत रेलमार्गको सम्भाव्यता अध्ययनको काम सुरु गरिने बताएका थिए ।

 

उनले काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगंज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गरिने बताएका थिए ।

 

रसुवा–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको लागि चीन सरकारसँग वार्ता भई प्रक्रिया अगाडि वढेको छ । तर, पछिल्लो समय कोरोना भाइरसका कारण सो रेलमार्गको विषयमा अन्य थप प्रक्रियाहरु अघि बढ्न नसकेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

 

दक्षिणी सिमा नाकाबाट पूर्व–पश्चिम विद्युतीय रेलमार्गको इटहरी, निजगढ, बुटवल र कोहलपुर जोड्ने रेल मार्गको लाइन निर्माण काम अगाडि बढाइने सरकारी योजना रहेको छ ।

 

मेची–महाकाली विद्युतीय रेलमार्गः राष्ट्रिय गौरवको योजनाअन्तर्गत मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । ९ सय ४५ किलोमिटर लामो मेची महाकाली रेलमार्ग लिंक सहित १ हजार २६ किलोमिटरको बन्ने छ ।

 

जयनगर–जनकपुर–बर्दिबास रेलमार्गः निर्माणाधीन ६९ किलोमिटर लामो जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको जयनगर– जनकपुर खण्डको ३४ किलोमिटर निर्माण सम्पन्न भएको छ ।

 

बर्दिवास–निजगढ ७० किलोमिटर खण्डमा हालसम्म २८ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले २ वर्ष भित्र पूर्व–पश्चिम रेलमार्ग अन्तर्गतको बर्दियाबास–निजगढ खण्ड निर्माणको काम सम्पन्न गर्ने बताएका थिए ।
बर्दिवास–निजगढको ७० किलोमिटर रेल मार्ग निर्माण मध्ये बर्दिवास–लालवन्दी खण्डको ३० किलोमिटर क्षेत्रमा ‘ट्रयाक वे’ निर्माण भइरहेको छ ।

 

लालवन्दी–निजगढ ४० किलोमिटर खण्डमा ‘ट्रयाक वे’ निर्माण ठेक्का आह्वान भई मूल्याङ्कन प्रकृयामा रहेको छ । यस्तै, बर्दिवास–निजगढ खण्डमा पर्ने २ सय २५ मिटर लामो कालिन्जोर पुल निर्माणको कार्य सम्पन्न भएको छ भने १ सय ७५ मिटर लामो फुलजोर पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको अर्धवार्षिक समीक्षमा उल्लेख गरिएको छ ।

 

बर्दिवास–निजगढ खण्डको बागमती पुलको ठेक्का सम्झौता भई निर्माण शुरु भएको छ । बर्दिवास–निजगढ खण्डमा १८ वटा पुलहरुको फाउण्डेसनको काम ८० प्रतिशत सम्पन्न भएको छ । सो खण्डको थप १४ वटा पुलको ठेक्का व्यवस्थापन भई निर्माण प्रारम्भ भइसकेको हालको अवस्था छ ।

 

जयनगर–विजलपूरा रेल सञ्चालन गर्न भारतीय रेल्वे कम्पनीसँग ‘जीटुजी’ विधिबाट रेल खरीद गर्ने सम्झौता भइसकेको छ भने रेल गाडी नेपाल आउने चरणमा रहेको रेल विभागले जनाएको छ । विजलपूरा–बर्दिवास रेलमार्गको २ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । भारतले रेलगाडी पठाएपछि सो ट्रयाकमा रेल सेवा संचालनको काम सुरु गरिने छ ।

 

अर्थमन्त्री खतिवडाले जयनगर–बिजलपुरा र भारतको बथनाहादेखि विराटनगरसम्म आगामी आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालन गरिने बताएका थिए ।

 

रसुवा–काठमाडौं रेलमार्गः रसुवा–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको लागि चीन सरकारसँग वार्ता भई प्रक्रिया अगाडि वढेको छ । तर, पछिल्लो समय कोरोना भाइरसका कारण सो रेलमार्गको विषयमा अन्य थप प्रक्रियाहरु अघि बढ्न नसकेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

 

रसुवागढीबाट केरुङसम्म २३ किलोमिटरको दूरी रहेको छ । चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएको छ भने नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौँ हुँदै पोखरासम्म जोड्न प्रस्ताव गरेको छ ।

 

रेलमार्ग निर्माण भएमा चीनसँगको लगानी, व्यापार र पर्यटक आवागमनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

 

वीरगंज–काठमाडौं रेलमार्गः वीरगंज–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको लागि भारत सरकारसँग वार्ताभई प्रक्रिया अगाडि बढेको छ । सो रेल निर्माण भारत आफैले गर्न सक्ने मिश्रले बताए । यस खण्डमा डीपीआर निर्माणका लागि भारतले बजेट समेत विनियोजन गरेको सुन्न आएको भन्दै उनले यसमा भारतले कागजी प्रकृया भने अघि नबढाएको बताए ।

 

‘यो अनौपचारिक रुपमा मात्र भएको निर्णय हो, हामी कहाँ कुनै कागजी सम्झौता भएको छैन,’ मिश्रले भने ।
चालू आवमा रेल सेवा सञ्चालन गर्ने गरी रेल्वे नियमावली जारी भएको छ ।

वाइड बडी जहाजले नियमित उडान भर्दै Read Previous

वाइड बडी जहाजले नियमित उडान भर्दै

दूरसंचार कम्पनीलाई मर्जरमा जान मिल्ने नीति तयार गर्दै सरकार Read Next

दूरसंचार कम्पनीलाई मर्जरमा जान मिल्ने नीति तयार गर्दै सरकार