निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि सम्भव : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रवद्र्धनका लागि ढुक्कसँग कामगर्ने वातावरणको सृजना गरी उनीहरूसँग साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।

 

दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइताबर सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर हातेमालो गरेर अघि नबढ्दासम्म देशमा समृद्धि सम्भव नभएको बताए ।

 

‘नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रिने छ र यसबाट समृद्ध नेपाल र सुखी नेपालीको सरकारको अभियान सार्थक बन्नेछ,’ उनले भने ।

 

नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै उनले देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा भएकाले यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्ने बताए ।

 

उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ-आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गरेको देखिएकोले यसलाई व्यावहारिकतामा परिणत गरी तीनै तहका सरकारले निजी क्षेत्रको प्रवद्र्धन गरी अघि बढ्न सुझाव दिए ।

 

उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोेकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको कार्यान्वयनमा सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा राखे ।

बालाजु अटो वर्कसद्वारा आफ्ना प्रिभिलेज मेम्बरलाई सम्मान Read Previous

बालाजु अटो वर्कसद्वारा आफ्ना प्रिभिलेज मेम्बरलाई सम्मान

नलगाडमा जग्गा पर्नेले रोपनीको ६ लाख मुआव्जा पाउने Read Next

नलगाडमा जग्गा पर्नेले रोपनीको ६ लाख मुआव्जा पाउने