काठमाडौं । विद्युत् वितरण प्रणालीको स्तरोन्नति तथा विस्तार आयोजनाको कार्यान्वयनका लागि सरकारले युरोपेली लगानी बैंकबाट करीब १२ अर्ब ४१ करोड (१०० मिलियन युरो) बराबरको ऋण सहायता प्राप्त गर्ने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह-सचिव श्रीकृष्ण नेपालले र यूरोपेली लगानी बैंककातर्फबाट बैंकका डाइरेक्टर मारिया स बारागन र लिगल काउन्सेल बोर्जा ओक्जाङ्गोइटीले हस्ताक्षर गरेका छन् ।
कर्णाली, सुदूरपश्चिम र ५ नं प्रदेशमा विद्युतको पहुँच बढाउने, आपूर्तिको गुणस्तर एवम् दक्षता बढाउने र ऊर्जा व्यापारलाई सहजीकरण गर्ने उद्देश्य रहेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने प्रस्तुत आयोजना अन्तर्गत ३३/११ किलो भोल्टका सवस्टेसनहरु तथा ३३ किलो भोल्टका आपूर्ति लाईनहरु निर्माण गर्ने, ११ किलो भोल्टका आपूर्ति लाईनहरु, वितरण ट्रान्सफर्मरहरु र न्यून भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गर्ने र आयोजनाको कार्यान्वयनमा सहयोग गर्ने क्षमता विकासका क्रियाकलापहरु सञ्चालन हुनेछन् ।