व्यक्तिगत प्यान लिने झण्डै ८५ प्रतिशतले बढे, राजश्व संकलनमा २५% को बृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा कुल ९ लाख ६६ हजार ७ सय ८५ करदाता थपिएका छन् । ती मध्ये चालू आवको पुस मसान्तसम्ममा ८ लाख १४ हजार ६ सय ३ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।

 

त्यस्तै, व्यवसायीकतर्फ सो अवधिमा १ लाख ४९ हजार ५ सय २ जनाले प्यान दर्ता गरेका छन् भने सरकारी निकायतर्फ २ हजार ६ सय ८० जनाले प्यान दर्ता गरेको आन्तरिक राजश्व विभागले जानकारी गराएको हो ।

 

चालु आर्थिक वर्षमा ३४ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ व्यक्तिगत कर संकलन भएको छ । गत आवको सोही ६ महिनाको अवधिमा भने करिब २८ अर्ब १३ करोड रुपैयाँ कर संकलन भएको थियो । यसरी हेर्दा चालू आवको ६ महिनामा आयकर संंकलन २४.३३ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको हो ।

 

व्यक्तिगत तथा स्वामित्व अन्तर्गत १३ अर्ब ७ करोड २१ लाख रुपैयाँ कर संकलन भएको छ । सो रकम गत वर्षको तुलनमा २१ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, पारिश्रमिक करतर्फ चालु आवमा १३ अर्ब ३१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । यो २७.७८ प्रतिशतको वृद्धि हो । सामाजिक सुरक्षातर्फ ३ अर्ब ३९ करोड १७ लाख रुपैयाँ कर संकलन भएको छ । यो गत आवको सोहि अवधिको तुलनामा १३.१९ प्रतिशतले वृद्धि हो ।

 

व्यक्तिगत पुँजीगत लाभकरतर्फ ५ अर्ब १९ करोड ५८ लाख रुपैयाँ कर संकलन भएको विभागले जनाएको छ । यस अन्तर्गत ३०.१८ प्रतिशतले कर संकलन वृद्धि भएको हो । कर्पोरेट आन्तरिक आय करतर्फ चालू आवमा ५४ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ कर संकलन भएको छ ।

 

गत आर्थिक वर्ष २०७५/७६ मा २१ लाख ७१ हजार ५ सय २४ जनाले प्यान दर्ता गरेका थिए । सो मध्ये ९ लाख ९२ हजार ८ सय ८० जनाले मात्र व्यक्तिगत प्यान कार्ड दर्ता गरेका थिए ।

 

यस्तै, उक्त अवधिमा व्यवसायीक तर्फ ११ लाख ७७ हजार ९ सय ७ जनाले प्यान दर्ता गरेका थिए । साथै सरकारी तर्फ गत वर्ष ७ सय ३७ जनाले प्यान दर्ता गराएका थिए ।

 

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत अनिवार्य रुपमा प्यान कार्ड लिनुपर्ने व्यवस्था लागु गरेको छ । यसअघिसम्म प्यान कार्डको व्यवस्था खुकुलो रहेतापनि उक्त बजेटपश्चात भने सरकराले यसमा कडाई गर्न थालेको हो । विभागको तथ्यांकअनुसार, चालु आवको पुसमसान्तसम्ममा कुल १८ लाख ७ हजार ४ सय ८३ जनाले व्यक्तिगत प्यान दर्ता गरेका छन् ।

 

विदेशीले लिएको प्यान कार्डको तथ्यांक नै छैन

 

आन्तरिक राजश्व विभागलाई हालसम्म कति विदेशी कामदारले नेपालमा काम गर्नका लागि प्यान कार्ड लिए भन्ने थाहा छैन ।

सरकारले हरेक व्यक्ति जो व्यवसाय वा रोजगारीमा लागेका छन् तिनले अनिवार्य प्यानमा दर्ता हुनु पर्ने बाध्यकारी नियम लागु गरेको छ । जस अन्तर्गत नेपालमा रहेका नागरिक तथा विदेशबाट आएर नेपालमै काम गर्दै बसेका व्यवसायी तथा विदेशी नागरिकले समेत अनिवार्य प्यान नम्बर लिनु पर्ने हुन्छ ।

 

रोजगारका लागि नेपाल आएका विदेशी कामदारले समेत सम्बन्धित दुतावासको कार्ड, परिचयपत्र र रोजगार सिफारिस बुझाएपछि प्यान कार्ड पाउने व्यवस्था गरिएको छ । तर, यसो गरेतापनि हालसम्म कति वैदेशिक रोजगारका लागि आएकाले प्यान कार्ड पाए भन्ने यकिन तथ्यांक विभागसँग छैन ।

 

नेपालमा धेरै मात्रामा भारत र चीनबाट रोजगारका लागि आएका कामदारहरु रहेका छन् । विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेका अनुसार हलसम्म कति विदेशी कर्मचारीले प्यान दर्ता गरे भन्ने छुट्टै तथ्यांक राखिएको छैन ।

 

नयाँ व्यवस्थासँगै १ हजार रुपैयाँभन्दा कम तलब वा पारिश्रमिक पाउनेले मात्र प्यान नभएपनि तलव पाउन सक्ने व्यवस्था लागू भएको छ । १ हजार रुपैयाँभन्दा धेरै रकम भुक्तानी गर्दा भने अनिवार्य प्यान नम्बर चाहिने व्यवस्था गरिएको हो । प्यान बिना गरिएको भुक्तानीलाई सरकारले कम्पनीको खर्चमा गणना गर्न दिँदैन । यो व्यवस्था सँगै कुनै कम्पनीले कामदार र कर्मचारीलाई दिनुपर्ने पारिश्रमिक बैंकमार्फत दिनुपर्ने भएको छ । त्यसमा प्यान नम्बरसमेत उल्लेख गर्नुपर्ने छ ।

 

प्यानमार्फत भुक्तानी गर्दा कामदारले तिरेको करको यकिन विवरण आन्तरिक राजश्व विभागको तथ्यांकमा रहनेछ । यसबाट पारिश्रमिक पाउने व्यक्तिले आयकर छली गर्ने सम्भावना रहँदैन ।

शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद बेच्न तोक्यो बुकक्लोज Read Previous

शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद बेच्न तोक्यो बुकक्लोज

'खाना जे होला स्वाद बढाउन कोकाकोला' क्याम्पियन शुरू Read Next

'खाना जे होला स्वाद बढाउन कोकाकोला' क्याम्पियन शुरू