काठमाडौं । भक्तपुर नगरपालिकाको छैटौं नगरसभाको बैठकले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण सम्बन्धी प्रस्ताव र उपत्यकामा बन्ने स्याटलाईट सिटी अन्यत्र सार्नु पर्ने प्रस्ताव पारित गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको नगरसभाले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण सम्बन्धी प्रस्ताव सर्वसहमतिले पारित गरेको हो ।
लामो समयदेखि भक्तपुर औद्योगिक क्षेत्रलाई अन्य ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग हुँदै आएको थियो । आर्थिक वर्ष २०७२/०७३ को बजेटमा नै भक्तपुर औद्योगिक क्षेत्रलाई अन्य स्थानमा स्थानान्तरण गर्ने उल्लेख भएता पनि हालसम्म स्थानान्तरण हुन सकेको छैन ।
गत मंसिर ३० गते बसेको नगर बैठकले भक्तपुर नगरपालिका वडा नम्बर २ मा रहेको उक्त औद्योगिक क्षेत्रलाई तत्काल स्थानान्तरणको लागि पहल गर्न माग गरिएको थियो । अहिले भक्तपुर औद्योगिक क्षेत्र तत्काल स्थानान्तरण गर्नु पर्ने र सो क्षेत्रको जग्गा भक्तपुर नगरपालिकाको नाममा हक हस्तान्तरण गर्न माग गरिएको हो ।
स्याटलाइट सिटी हटाउन अनुरोध काठमाडौं उपत्यका विकास प्राधिकरण मार्फत काठमाडौं उपत्यकामा बन्ने चार वटा स्याटलाइट सिटी निर्माण गर्ने विषयमा भक्तपुर नगरसभाले ध्यानाकर्षण भएको जनाएको छ।
भक्तपुर नगरपालिका वडा नम्बर १० को सुकुन्दा फाँट, चाँगुनारायण नगरपालिकाको अधिकांश भाग र साँखु क्षेत्रसमेत ओगट्ने गरी सबैभन्दा ठूलो स्याटलाइट सिटी बनाइने र सुर्यविनायक क्षेत्रमा बन्ने अर्को स्याटलाइट सिटी समेत नबनाउन नगरसभाले उपत्यका विकास प्रधिकरणको ध्यानाकर्षण गराएको छ ।
स्याटलाइट सिटी बनाउने नाममा देशभरि कै जनसंख्या उपत्यकामा थुप्रिने सरकारी नीतिको उसले खुलेर विरोध गरेको जनाएको छ । बरु यस्ता सिटी उपत्यका बाहिर बनाएर देशको सन्तुलित विकासलाई ध्यान दिन सरकारलाई अनुरोध गरिएको छ ।
नगरसभामा सिद्धिराम अवाल, राजेन्द्र माक, ज्ञानकुमार मगजु, बलराम न्हिसुतु,शिवप्रसाद बाला, रत्नकाजी नायभारी, सूर्यप्रसाद श्रेष्ठ लगायतका नगर सभासद्हरुले औद्योगिक क्षेत्रदेखि स्याटलाइट सिटीको विषयमा आफ्नो बिचार राखेका थिए ।