काठमाडौं । पशुपतिदेखि गुहेश्वरीसम्म बागमतीको पानीमा सिधै ढल मिसिन नदिने र प्रशोधनपछि मात्र नदीमा छोड्ने भनेर प्रशोधन केन्द्र निर्माणको काम लगभग ९८.१५ प्रतिशत सकिएको छ ।
काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयले आगामी फागुन ९ गते पर्ने शिवरात्री अघि नै गुहेश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधित पानी बागमतीमा बगाउने योजना अनुसार काम गरिरहेको छ ।
‘हामीले फागुन ९ गतेसम्ममा संचालनमा ल्याउने हरसम्भव कोशिस गरिरहेका छौं तर, केही काम बाँकी रहेकाले यसै भन्न सकिने अवस्था छैन’, निर्देशनालयका इन्जिनियर किशोर पन्थीले चाणक्यपोष्टलाई बताए ।
अहिले गुहेश्वरीदेखि पशुपतिसम्मको क्षेत्रमा बागमतीको पानीमा नुहाउन मिल्ने हिसाबले सफा बनाउन लागिएको हो । माथिबाट बग्दै आएको फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधित भएपछि बागमतीमा बगाइने छ । त्यसले गुहेश्वरी र पशुपत क्षेत्रमा भक्तजनले खोलामा नुहाउन सक्ने छन् ।
अहिले पानी प्रशोधन हुन थालेको र यो ट्रायलको रुपमा संचालनमा आएको छ । ट्रायलको रुपमा तिलगंगाभन्दा तल एउटा टनेलबाट प्रशोधनको काम सुरु गरिएको छ ।

पानी प्रशोधनको क्रममा निस्कने तरल वस्तुको व्यवस्थापन करिब सकिएता पनि त्यसबाट निस्कने ग्याँस, ठोस वस्तुहरुको व्यवस्थापन गर्ने काम बाँकी रहेको छ ।
यो प्रशोधन केन्द्र पूर्णरुपमा संचालनमा आउन अझ केही समय लाग्ने छ । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि भने प्रतिसेकेन्ड लगभग ३ सय ७५ लिटर सफा पानी बागमतीमा बग्नेछ ।
अहिले गुहेश्वरीदेखि पशुपतिसम्मको क्षेत्रमा बागमतीको पानीमा नुहाउन मिल्ने हिसाबले सफा बनाउन लागिएको हो । माथिबाट बग्दै आएको फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधित भएपछि बागमतीमा बगाइने छ । त्यसले गुहेश्वरी र पशुपत क्षेत्रमा भक्तजनले खोलामा नुहाउन सक्ने छन् ।
बागमती सभ्यता एकिकृत विकास समितिले ढल प्रशोधन केन्द्र सन् २००१ मै निर्माण गरेको भएपनि कम क्षमता र ढल व्यवस्थापन सहिसँग गर्न सक्ने अवस्था नहुँदा संचालनमा आउन सकेको थिएन ।
‘पहिलेकोलाई मर्मत संभार गर्ने र नयाँ केन्द्र निर्माणगरि बागमतीमा सफा पानी बगाउन लागिएको हो’, बागमती सभ्यता एकीकृत विकास समिमिका आयोजनाका उप प्रमुख योगेन्द्र चित्रकारले भने ।
यो प्रशाेधन केन्द्रको मुख्य लक्ष्य पशुपति क्षेत्रमा बग्ने फोहोर पानीलाई सफा बनाई नुहाइ धुवाईमा प्रयोग गर्ने भन्ने रहेको चित्रकारले बताए ।
यस प्रशाेधन केन्द्र पूर्णरुपमा संचालनमा आएपछि यसले गोकर्णदेखि तल र गौशालादेखि माथिका क्षेत्रको ढल प्रशोधन गर्ने छ । गोठाटार, जोरपाटी, चाबहिल, मित्रपार्क, गौरीघाट र गौशालाका ढल यही केन्द्रमा जम्मा भइरहेको छ । त्यसको निकासको लागि नदीको दुई किनारामा ढल बिछ्याउने काम बागमती सभ्यता विकास समितिले गरेको हो ।
गोठाटार, जोरपाटी, चावहील, मित्रपार्क, गौरीघाट र गौशालाका ढल नदीका दुई किनारा भएर बग्दै आएर ‘इनलेट’ जम्मा हुन्छ । त्यसपछि पानी ‘ग्रिट च्याम्बर’ मा जान्छ । च्याम्बरले पानीमा भएको प्लास्टिक, बोरा, र ठूला ठोस वस्तु छान्छ । त्यसपछि बल्ल पानीको थिग्रिने प्रक्रिया सुरू हुन्छ ।

यसका लागि ‘सेडीमेन्टेसन’ ट्यांकीको व्यवस्था गरिएको छ । सेडीमेन्टेसनमा तीन वटा ट्यांकी निर्माण गरिएको छ । पहिलो एरेसन ट्यांकीमा पानीमा भएका जीवाणुलाई अक्सिजन दिएर जीवित राखिन्छ । ती जीवाणुले पानीमा रहेको फोहोरको लेदो खाएर एकै ठाउँ जम्मा पार्छन् जसले गर्दा पानीको कालो पनि घट्छ ।
त्यसपछि पहिलो ट्यांकीबाट पानी दोस्रोमा खस्छ । यसमा मसिनोे, हिलो माटो थिग्रिन्छ । त्यसपछि पानी तेस्रो ट्यांकीमा जान्छ जहाँ आइपुग्दा पानी सफा भइसकेको हुन्छ ।
सेडीमेन्टेसन ट्यांकीको प्रक्रिया सकिएपछि पानी ‘डिस्क फिल्टर’मा जान्छ । डिक्स फिल्टरबाट पानी क्लोरिनाइजेनको लागि क्लोरिन ट्यांकीमा जान्छ । जहाँ टर्चरी प्रणालीबाट पानीको शुद्धीकरण गर्न क्लोरिन प्रयोग गरिन्छ । नुनबाट क्लोरिन बनाउने प्रणाली प्रशोधन केन्द्रभित्रै छ । क्लोरिनाइजेनले पानीमा भएको हानिकारक किटाणुहरुलाई नाश गर्छ । क्लोरिन हालेपछि पानी आधा घन्टासम्म त्यति कै बस्छ । त्यसपछि मात्र बल्ल प्रशोधित पानी बागमतीमा खस्छ ।
प्रशोधन केन्द्र निर्माण गर्नका लागि अधिकार सम्पन्न बागमतीले ७० रोपनी जग्गा दिएको हो । २ अर्ब ५५ करोड रूपैयाँ लागतमा बनिरहेको केन्द्र अबको केही दिनभित्र पूर्ण सञ्चालनमा आउनेछ ।
गुहेश्वरीमा जस्तै भक्तपुरको सल्लाघारी र ललितपुरको बालकुमारी र धोबीघाटमा पनि प्रशाेधन केन्द्र निर्माण भइरहेका छन् ।