काठमाडौं। सरकारले चालु आर्थिक वर्षको लागि नयाँ राजश्व लक्ष्य निर्धारण गरेको छ । बजेट वक्तव्यको क्रममा सरकारले अनुमान गरेको लक्ष्य मध्ये ९० प्रतिशतमात्रै राजश्व संकल्न हुने अनुमान गर्दै नयाँ लक्ष्य निर्धारण गरेको हो ।
अर्थ मन्त्रालयले बुधबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राजश्वको लक्ष्यलाई संशोधन गरेको छ । बजेटमा अनुमान गरिएकोमध्ये ९०.५ प्रतिशत मात्रै राजस्व उठ्ने संशोधित अनुमान गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका हुन् । सरकारले चालु आवमा कुल ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो । यद्यपी उक्त लक्ष्यलाई संशोधन गर्दै अब ८ खर्ब ८८ अर्ब मात्रै राजश्व संकलन गर्ने गरी लक्ष्य संशोधन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी गराएका छन् । त्यस्तै राजश्वलाई सरकारले मुख्य आयस्रोतको रुपमा नलिएको भन्दै सरकार कहिल्यै राजश्वमुखी नबनेको समेत खतिवडाले दाबी गरेका छन् ।
चालु आवको पहिलो ६ महिना अर्थात साउनदेखि पौषसम्ममा सरकराले कुल २ खर्ब ३० अर्ब रुपैंया राजश्वको लक्ष्य राखेको थियो । तर अर्थ मन्त्रालयका अनुसार, उक्त अवधिमा मात्रै २ खर्ब ४ अर्ब रुपैंया राजश्व संकलन भएको छ । यद्यपी सरकारको उक्त लक्ष्य गत आवको सोही अवधिको तुलनामा भने २५ दशमलव ३३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
यस्तै अर्धवार्षिक समीक्षामार्फत सरकारले चालु आवको बजेट आकार समेत घटाएको छ । चालु आवमा १५ खर्ब ३२ अर्ब कुल बजेटको आकार रहेकोमा सरकारले त्यसलाई १० प्रतिशत घटाएर १३ खर्ब ८५ अर्ब रुपैंयामा झारेको छ । चालु आवमा सरकारले उक्त १५ खर्ब ३२ अर्ब रुपैंया बराबरको बजेट खर्च हुन नसक्ने अनुमान गर्दै बजेटको आकार घटाएको खतिवडाले स्पष्ट पारेका छन् । बजेटको आकार कम गरेतापनि आर्थिक वृद्धि दरको लक्ष्य भने यथावत राखिएको उनले थप बताए ।
चालु आवमा सरकारले ८० प्रतिशत विकास खर्च गर्ने लक्ष्य लिएको छ । कुल पुँजीगत खर्चको ८० प्रतिशत विकास खर्च गर्ने लक्ष्य सरकारले अर्धवार्षिक समीक्षमार्फत सार्वजनिक गरेको हो । चालु आवमा चालु खर्च ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।