अन्नबाली छाडेर कागतीखेती शुरु गर्दै रामपुरका कृषकहरु

धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गरेका छन् । अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाएको हुन् । उनले करिब सात रोपनी क्षेत्रफलमा ४०० बोट कागती लगाएका छन् ।

 

बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि भट्टराईले व्यावसायिक तवरले कागती लगाएका हुन् । चार वर्ष अघिदेखि कागतीखेती शुरु गरेका भट्टराईले अब १०० बोट थप गरी ५०० बोट पुर्याउने लक्ष्य लिएका छन् । ‘राम्रै धान, मकै, गहुँ फल्ने जग्गा छ, अन्नबाली लगाएर निर्वाहमुखी मात्र भइयो, अब कागती लगाएर आम्दानी गर्ने सोच बनाएको छु’ भट्टराईले भने ।

 

कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालीन आयस्रोत लिन कागती लगाउन थालेको उनले बताए। “राम्रो स्याहार संरक्षण गरेपछि एक वटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, त्यसमा पनि एक हजार फले पनि ५०० बोटबाट वर्षमा कम्तीमा पनि सजिलोसँग १० लाख त कमाउन सकिन्छ” उनले भने । उनले वर्षमा ४० मुरी धान उत्पादन हुने खेतभरि अहिले कागती लगाएर हरियाली बनाएका छन् ।

 

रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराउन थालेपछि कागतीखेतीमा कृषकको आकर्षण बढ्दो रहेको कृषि शाखा प्रमुख तथा सूचना अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिए।

 

आर्थिक वर्ष २०७५/७६ मा स्थानीय जातका तीन हजार ५००, सुन कागती एक हजार ५०० बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी पाण्डेयले जानकारी दिए । उनका अनुसार रामपुर नगरपालिका क्षेत्रमा करीब २४ जना जति कृषक कागतीखेतीमा आबद्ध रहेका छन् । कागतीभित्र विभिन्न घुसुवा बाली लगाएर मनग्य आम्दानी लिन सकिन्छ ।

 

बजारमा कागतीको मूल्य बढ्दो रहेको हुँदा अन्नबालीको तुलनामा यसबाट कृषकले राम्रो कमाई गर्न सक्नेछन् ।

अस्कर्स २०२०: इतिहास रच्दै दक्षिण कोरियाली 'प्यारासाइट' बन्याे उत्कृष्ट चलचित्र Read Previous

अस्कर्स २०२०: इतिहास रच्दै दक्षिण कोरियाली 'प्यारासाइट' बन्याे उत्कृष्ट चलचित्र

भ्यालेन्टाइन डेमा खाना महोत्सव गर्दै साैराह Read Next

भ्यालेन्टाइन डेमा खाना महोत्सव गर्दै साैराह