काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सडक छेउमा रहेका मापदण्ड विपरितका पेट्रोल पम्पहरु हटाउन निर्देशन दिएको १५ दिन भइसकेको छ । सडक छेउमा रहेका र ती पेट्रोल पम्प अति जोखिम पूर्ण भएको भन्दै मन्त्रिपरिषदको कार्यालयले हटाउन निर्देशन दिएको हो ।
मन्त्रिपरिषदले माघको पहिलो साता जोखिमपूर्ण १८ वटा पेट्रोल पम्पहरु हटाउन आयल निगम र ट्राफिक महाशाखालाई भनिएकोे थियो । मन्त्रीपरिषदले नेपाल आयल निगम र सडक विभागलाई तत्कालै उक्त काम शुरू गर्न निर्देशनसमेत दिएको थियो ।
विक्रेताको पेट्रोल पम्प मापदण्ड अनुसार तराई, भित्री मधेश ( भित्री मधेश जिल्ला उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, दाङ्ग र सुर्खेतको पहाडी क्षेत्र वाहेक ) का स्थानमा एक विघा (१३ रोपनी) र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा ५ रोपनी जग्गामा बनेको हुनु पर्ने छ ।
जग्गाको सडक तर्फको मोहडा ४० मिटर र ५० मिटर चौडाई हुनुपर्ने मापदण्डमा उल्लेख छ । सडक छेउमा रहेका पेट्रोलपम्पका कारण ट्राफिक व्यवस्थापनमा समेत बाधा आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले धेरै सवारी आवगमन हुने सडक किनारा तथा घना वस्ती भएका स्थानमा पम्पहरु मापदण्ड विपरीत भएको भन्दै हटाउन निर्देशन दिइएको हो ।
साथै, मन्त्रिपरिषदको कार्यालयबाट ट्राफिक प्रहरी महाशाखा र आयल निगमलाई पत्राचार गरेको जनाइएको छ ।
यस्तै नेपाल आयल निगमका महा–प्रवन्धक सुरेन्द्र पौडेलले भने उपत्यकामा बनेका कुनै पेट्रोल पम्प मापदण्ड विपरित नभएको बताएका छन् । उनले सो पेट्रोल पम्पहरु पुरानो मापदण्ड अनुसार बनेको बताए ।
‘हाल भएका सबै पेट्रोल पम्प मापदण्ड अनुसार नै छन्, अब ती हटाउने हो भने पेट्रोल÷डिजेल हाल्न कता जाने ?,’ पौडेलले चाणक्य पोष्टसँग भने ।
सडकमा भएका पेट्रोल पम्पहरु मापदण्डमै बने पनि पछि सडक विस्तारको क्रममा साघुरिदै गएको र मापदण्ड विपरित हुन गएको उनले बताए ।
उनी काठमाडौंमा हाल रहेका पेट्रोलपम्पहरु सार्नलाई समेत उचीत जग्गा नभएको बताउँछन् । ‘उनीहरुलाई हट त भन्ने तर, जग्गा कहाँ छ ? १० वर्षमा एउटा पनि पेट्रोल पम्प काठमाडौंमा थपिन सकेको छैन, भएका पनि हटाए पेट्रोल हाल्न गाडी उपत्यका बाहिर लैजाने,’ उनले भने ।
मन्त्रिपरिषद् कार्यालयले काठमाडौंका १२ र ललितपुरका ६ वटा पम्पहरु हट्नु पर्ने जनाएको छ । काठमाडौंको कंलकी, कोटेश्वर, महाराजगञ्ज, बौद्ध, बालाजु तथा ललितपुरको जाउलाखेल, चापागाउँ लगायतबाट पम्पहरु हटाउनु पर्ने भएको हो ।
हालसम्म आयल निगमबाट पेट्रोल पम्प हटाउने कुनै प्रकृयाअघि नबढे पनि ट्राफिक प्रहरीले भने पेट्रोल पम्पहरुलाई पत्र पठाइसकेको छ ।
यस्तै सुरुमा महानगरले सुरु गरेको यो योजना हाल सरकारले सिधै निगमलाई निर्देशन दिएको हो । महानगरका शहरी विकास प्रमुख हरि कुँवरले यस विषयमा निगमलाई गर्नु पर्ने सहयोगका लागि महानगर सधै तत्पर रहेको बताए ।
हटाउन पहल भएका पेट्रोल पम्पः
काठमाडौंबाट हट्ने पेट्रोल पम्पहरुमा कनक पेट्रोल पम्प, कोत थुकु पेट्रोल पम्प, बालाजुको जयन्ती पेट्रोल पम्प, मायाराम भोलाराम पेट्रोल पम्प, बाबा पेट्रोल पम्प, श्यामा पेट्रोल पम्प, त्रिशुल पेट्रोल पम्प, भ्याली रिकेश पेट्रोल पम्प, कामाख्या पेट्रोल पम्प, जुबी पेट्रोल पम्प, बराल पेट्रोल पम्प, सीता पेट्रोल पम्प लगायतका पेट्रोल पम्पहरु हटाउन निर्देशन दिइएको हो ।
यस्तै साझा पेट्रोल पम्प, एच.पी इन्टरनेश्नल, गायात्री पेट्रोल पम्प, बज्रबाराही पेट्रोल पम्प, बालकुमारी पेट्रोल पम्प, टिका भैरव डिजेल स्टोर लगायतका पेट्रोल पम्प हटाउन भनिएको छ ।