काठमाडौं। चालु आर्थिक वर्षको पुस मसान्तसम्म ट्रफिक कारवाही मार्फत १६ करोड ३८ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । सो अवधिमा २ लाख ५४ हजार ७ सय ४७ सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व संकलन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले जनाएको छ ।
ट्राफिक प्रहरी माहाशाखाले गत आर्थिक बर्ष २०७५/०७६ मा ट्राफिक नियम उलंघन गर्ने ४ लाख ८१ हजार ७५ सवारी साधन बाट ३१ करोड ५६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यसैगरी आर्थिक बर्ष २०७४/०७५ मा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ४ लाख ७२ हजार ४ सय ७ सवारी साधनलाई कारवाही गर्दा २९ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व भएको ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, लेन अनुशासन कायम नराख्नेलगायत कारवाहीबाट राजश्व संकलन गरेको हो ।
ट्राफिकले सवारी साधनलाई बढी कारवाही गरेर कसरी बढी राजस्व संकलन गर्न सकिन्छ भन्ने उदेश्य नभई चालकहरुलाई सुधार गरी कसरी दुर्घटना कम गर्न सकिन्छ भन्ने नियतले मात्र कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
त्यसमध्ये मादक पदार्थ सेवन गरेर राजश्व कारवाहीमा पर्ने सवारी साधनको संख्या चालु आवको पुस मसान्तसम्ममा १६ हजार ४ सय ११ रहेको छ । यो अघिल्लो वर्षको तुलनामा धेरै हो । गत आर्थिक वर्ष २०७५/०७६ को तथ्याकं हेर्दा कुल २७ हजार ९ सय ५७ मादक पदार्थ सेवन गरेर राजश्व कारवाहीमा परेका थिए । त्यस्तै आर्थिक बर्ष २०७४/०७५ को तथ्याङ्क हेर्दा २७ हजार ८ सय १४ जना सोही कारवाहीमा परेका थिए ।