काठमाडौं । नागढुंगा सुरुङ मार्ग निर्माणको काम आगामी भदौबाट सुरु हुने भएको छ । खरिद प्रकृयाको अन्त्यमा रहेको नागढुंगा सुरुङमार्ग निर्माणको काम यही भदौबाट सुरु हुने भएको हो । सडक विभागका अनुसार ठेक्का प्रकृया पुरा भइसकेको छ । यद्यपी विभागले कुन कम्पनीले ठेक्का पाएको हो, त्यसको नाम भने तत्काल जानकारी दिएको छैन । ‘जाइकाले स्वीकृत गर्न बाँकी रहेको र स्वीकृत हुनासाथ सम्झौता गरि भदौबाट फिल्डमै काम सुरु गर्ने छौँ,’ सडक बिभागका महानिर्देशक केशबकुमार शर्माले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जाइकाले स्वीकृत गर्नासाथ नागढुंगाको काम अगाडि बढ्ने र १५ दिनमा सिलन्यास हुने जानकारी दिए । ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि २४ महिनामा नै काम सक्ने सरकारको लक्ष्य रहेको मन्त्री महासेठले संसदको विकास समितिमा बताए । ‘जाइकाले उताबाट ओके भन्नासाथ खरिद प्रकृया पुरागरी १५ दिनमा सिलन्यास गछौँ, ४० महिनाको सम्झौता हो तर, धेरैमा २ वर्षमा काम सम्पन्न गर्ने छाैँ,’ मन्त्री महासेठले भने ।

यस्तै थप ५ वटा सुरुङ मार्ग निर्माणका लागि समेत आउदो आर्थिक वर्षबाट सम्भावित अध्ययन सुरु गरिने विभागका महानिर्देशक शर्माले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ सालमा दिपायलको सबैभन्दा ठूलो सुरुङमार्ग, टोखा–छहरे सुरुङमार्ग, पूर्वको चियाबारी सुरुमार्ग, चित्लाङ सुरुमार्ग र काठमाडौं–हेटौँडा सुरुमार्गको अध्ययन अगाडि बढ्ने भएको हो । अध्ययनका लागि १ वर्ष लाग्ने अनुमान गरिएको छ ।
विभागका अनुसार आगामी आर्थिक वर्षभरी यी सुरुङमार्गहरूकाे सम्भाब्यता अध्ययन मात्र हुने छ । दिपायलमा ९ देखि १० किलोमिटरको हाराहारीमा सुरुङमार्ग निर्माण गरिने अनुमान गरिएको छ । टोखामा बन्ने सुरुङ मार्ग १ देखि डेढ किलोमिटर लम्बाइको सुरुङ मार्ग बन्ने अनुमान गरिएको छ । यस्तै सिन्धुलीको चियाबारी सुरुङमार्ग र चित्लाङको सुरुङमार्ग साढे २ किलोमिटर लम्बाईको बन्ने विभागले अनुमान गरेको छ । ‘आउदो आर्थिक वर्ष पुरै अध्ययन मात्र हुन्छ । त्यसपछि विस्तृत डिजाइन सकेर ठेक्का प्रकृयाको काम हुन्छ,’ महानिर्देशक शर्माले भने ।