काठमाडौं । कानुन विपरित सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर बिक्री गरिएको ४८ वर्षपछि उक्त जग्गा सरकारको नाममा आएको छ । गोठाटार ३ ‘क’ ८३ नम्बर कित्ताको १३ रोपनी ५ आना २ पैसा सरकारी जग्गा पुनः सरकारी नाममा आएको हो ।
अहिले उक्त स्थानको जग्गा २५ लाख रुपैयाँ प्रतिआनामा बिक्री वितरण भइरहेको छ । अहिलेको मूल्य अनुसार उक्त जग्गाको मोल ५३ करोड रुपैयाँ हाराहारीमा पर्न आउँछ । बिक्रम संम्बत २०२८ सालमा कानुन मिची उक्त जग्गा विक्री भएको पाइएको हो ।

२०५७ मा भएको नयाँ नापीपछि उक्त जग्गा ८० र २९१ नम्बर कित्तागरि दुई कित्तामा विभाजन भएको थियो । जग्गाको बीच भागबाट सडक निर्माण भएकाले उक्त जग्गा दुई कित्तामा विभाजन भएको र सडकको क्षेत्रफल घटाउँदा अहिले १२ रोपनी मात्र बाँकी रहेको छ ।
उक्त जग्गा २०२८ सालमा शम्सेर बहादुर रेग्मीले फर्जीगरि बेचेको चावहिल मालपोत कार्यालयका प्रमुख कलकबहादुर खड्काले जानकारी दिए ।

रेग्मीले आफ्नै श्रेष्ता बनाएर सो जग्गा सुन्दर बहादुरलाई बेचेका हुन् । २०४५ सालमा फेरी त्यो जग्गा सुन्दर बहादुरले शम्सेरका छोरा बलराम रेग्मीलाई बकसमा दिएका थिए ।

बलरामको मृत्युपछि बलरामको बुहारीलाई यो जग्गा नामसारी गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयबाट सो जग्गा सरकारको भएको र त्यसमा छानबीन गर्न पत्र पठाएसँगै उक्त जग्गा विवादमा आएको हो ।

उक्त पत्र पाएपछि चाबहिल मालपोतले छानबिन गर्दा सो जग्गा सरकारकै भएको पुष्ठी भएसँगै आज माघ १२ गतेबाट सरकारकै नाममा फिर्ता ल्याइएको मालपोत कार्यालय चावहिलले जानकारी दिएको छ ।
सुरुमा किर्ते गर्ने शम्सेर बहादुरको मृत्यु भइसकेकाले उनलाई मरणोपरान्त १ लाखसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको छ । यद्यपी कारवही गर्नुपर्ने मानिसको मृत्यु भइसकेकाले नाम बदर मात्र गरिएको मालपोत प्रमुख खड्काले बताए ।

‘पहिला मलाई जिल्ला प्रशासनले २०७६ साउन मा यो चिठ्ठी पठाएको थियो, अनी खोजबिन गर्दै जाँदा जग्गा सरकारकै भएको पायौं, र अब जग्गा सरकारकै नाममा ल्यायौं,’ खड्काले भने ।
