५ महिनामै चामल आयातमा ११ अर्ब बाहिरिँदा धान उत्पादन भने घट्दै

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा कुल ११ अर्ब १९ करोड ३४ लाख रुपैयाँ बराबरको चामल र २ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ बराबरको धान आयात भएको छ । यो अवधिमा २ अर्ब ५७ अर्ब ६३ करोड केजी चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो आयातका क्रममा ८० करोड १८ लाख रुपैयाँ बराबर राजश्व संकलन भएको छ ।

 

यो अवधिमा ‘मिक्सड् राइस’ ८ अर्ब ८ करोड ८४ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ‘ब्राउन राईस’ २५ करोड ८ लाख ७७ हजार रुपैयाँ बराबरको आयात भएको छ । ब्राउन चामलको धान २ लाख २ हजार रुपैयाँ बराबरको आयात भएको छ ।  गत आर्थिक वर्ष २०७५÷७६ मा कुल ३२ अर्ब ५९ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

 

नेपालमा धान उत्पादन

नेपालमा विशेषगरि चैते धान र वर्षे धान प्रचलनमा रहेका छन् । चैते धान अन्र्तगत ६ जातका बीउहरु रहेका छन् । वर्षे धान तर्फ ९८ जातका धानका बीउहरु रहेको मन्त्रालयले जनाएको छ । यो वर्ष कुल ५५ लाख ५० हजार मेट्रिकटन धान रोपिएको छ ।

 

गत वर्ष नेपालमा हालसम्मकै सबैभन्दा धेरै, अर्थात् ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । त्योभन्दा अघिल्लो वर्ष ५२ लाख मेट्रिक टन धान फलेको थियो । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान करिब २७ प्रतिशत रहेको छ ।

 

८ हजार ५ सय मेट्रिकटन धान खेर

यो पटक गरिमा धानका कारण पनि धेरै किसान ठगिन पुगेका छन् । गरिमा धानका कारण ८ हजार ५ सय मेटिकटन धान खेर गएको कृषि मन्त्रालयले जानकारी दिएको छ । सनराइज एग्रीकल्चरले ल्याएको सो धानमा बाली नलागे पछि उक्त कम्पनीलाई कारवाहीको प्रकृया सुरु गरिएको मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए ।

 

भारतबाट आयातित वर्णशङ्कर गरिमा जातको धानको बीउ भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट आयात गरी बिक्री वितरण गरिएको थियो । गरिमा जातको धानको बीउ किसानले प्रतिकिलो ४५० रुपैयाँमा खरीद गरेका थिए ।

 

यो पटक धान उत्पादन घट्न सक्ने

चालु आवमा धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ । मन्त्रालयका अनुसार वर्षे धानको कुल रोपाइँ हुने क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर छ । दश दिन ढिलो सुरु मनसुनले गर्दा रोपाइँ १३ लाख ८ सय ३० हेक्टरमा मात्र धान रोपाइ भएको छ, यो वर्ष ।

 

नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.७ टन छ । मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी ७० हजार ८ सय ७६ हेक्टरमा रोपाइँ नहुँदा २ लाख ६२ हजार २ सय ४१ टन काम धान उत्पादन हुने बताउँछन् ।

 

नेपालको धान खेती मनसुनमा आधारित छ । गत वर्ष मनसुनले साथ दिँदा उत्पादन राम्रो भएको थियो । गत वर्ष ५६ लाख १० हजार टन धान उत्पादन भयो । यो परिमाणको उत्पादन भनेको माग भन्दा करिब ५ लाख टन कम हो । अहिले रोपाइँको क्षेत्रफल घट्दा उत्पादनसँगै आयात पनि बढ्ने आँकलन गरिएको छ ।

बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार Read Previous

बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार

भन्सार अब ‘पेपर लेस’ बन्दै Read Next

भन्सार अब ‘पेपर लेस’ बन्दै