नारायणगढ-बुटवल सडक निर्माणले गति लियो, १२ हजार रुख कटानको काम सुरु

काठमाडौं । नारायणगढ-बुटवल सडकखण्डमा रुख काट्नका लागि वनले स्वीकृत दिएको छ । सडक निर्माणका क्रममा बुटवलदेखि गैंडाकोटसम्म सडकको दुवै किनारामा रहेका झन्डै १२ हजार रुख गर्न बन मन्त्रालयले स्वीकृत दिएसँगै रुख कटान सुरु भएको हो ।

 

बन मन्त्रालयले स्वीकृति दिए पछि रुखहरु काट्ने प्रक्रिया अघि बढेको सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले जानकारी दिए ।

 

झण्डै १ सय १४ किलोमिटर लम्बाई रहेको सो सडकखण्ड निर्माणको ठेक्का चाइना स्टेट कन्ष्ट्रक्सनले पाएको छ ।

 

सन् २०१८ डिसेम्बरमा नारायणगढ-बुटवल सडक सम्झौँता भएको थियो । २ लेनको सो सडकलाई ४ लेनमा विस्तार गर्न लागिएको हो । चिनियाँ कम्पनीलाई ठेक्का हस्तान्तरण गरेको १४ महिना भइसकेको छ ।

 

पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क नआएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको थिएन । रुख कटानको कामले गति लिना साथ विस्तारको कामले समेत तिब्रतासाथ अघि बढ्ने सुवालले बताए ।

 

‘रुख काट्न स्वीकृति पाइसकेका छौँ, अब केही समयमै रुख काट्न सुरु गरिन्छ, त्यसपछि कतै काम रोकिदैन,’ अर्यालले चाणक्यपोष्टसँग भने ।

 

सडक विस्तारका लागि ‘साइट’ मा पुगेका चिनियाँ कम्पनीले रुख नभएको स्थानमा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम गरिरहेको छ ।

 

ठेकेदार कम्पनीले नारायणगढ–बुटवल सडकखण्डमा दुबै तर्फ माटो भर्ने काम सकेपछि सब बेस र बेस निर्माण गरि कालोपत्रेको काम गर्नेछ । साथै सो कम्पनीले उक्त सडकखण्डमा पर्ने २१ वटा सडक पुल समेत निर्माण गर्नेछ । पुल दुई लेनको निर्माण हुनेछ ।

निर्माणपछि यस्तो बन्ने छ ।

 

सडक विस्तारपछि डिभाइडरको दुईतर्फ ७/७ मिटरको सडक निर्माण हुनेछ । सडकको दुई÷दुई लेनको बीचमा ३ मिटर जमिन ‘ग्रीनरी’ का लागि छुटाइने छ ।

 

सडकमा प्रत्येक लेन ३.५ मिटरको हुनेछ । सडकको दुबैतर्फको छेउमा पातलो कालोपत्रे गरिनेछ । २.५ मिटरको उक्त भागलाई सर्भिस लेनको रुपमा छुट्टाइने छ । सडकमा बिग्रिएका गाडी यहाँ राखेर मर्मत गरिने छ ।

 

उक्त सडकखण्डमा पर्ने बस्ती भएको २८ किलोमिटर सडकमा ७ मिटरको सर्भिस लेन हुनेछ ।

 

निर्माण पुरा हुन अब २ वर्ष मात्र बाँकी

 

सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का अनुसार नारायणगढ–बुटवल सन् २०१८ डिसेम्बरमा ठेकेदारसँग सम्झौता भएको र २०१९ फेब्रुअरीबाट कम्पनीको समय सुरु भएको हो ।

 

ठेकेदारले २०१९ फेब्रुअरीबाट ३ वर्ष भित्रमा सडक विस्तार गरिसक्नु पर्ने हुन्छ । कम्पनीको १ वर्ष सकिसकेको छ भने अब २ वर्ष समय बाँकी रहेको छ ।

 

करिब १७ अर्ब रुपैयाँ लगानीमा बन्दै गरेको नारायणगढ–बुटवल सडकखण्ड निर्माणका क्रममा कम्पनीले हालसम्म डेढ अर्ब रुपैयाँ भुक्तानी पाएको छ । प्रथम किस्ताको मोबीलाइजेसनका रुपमा कम्पनीलाई करिब डेढ अर्ब रुपैयाँ पेस्की दिइसको एडीबीले जनाएको छ ।

 

यस्तै कम्पनीले सडक निर्माणपछि ५ वर्षसम्म मेन्टिनेन्सको काम गर्नु पर्नेछ । सडक भत्कीने या त्यसमा भौतिक समस्या आए त्यो ठेकेदार कम्पनी आफैंले गर्नु मर्मत गर्नु पर्नेछ ।

पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै Read Previous

पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै

ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त, अब क्यानडामा बस्ने सम्भावना Read Next

ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त, अब क्यानडामा बस्ने सम्भावना