६ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सरकार असफल, के हो कारण

काठमाडौं। चालु आर्थिक वर्ष अर्थात २०७६÷७७ को ६ महिनामा सरकारको राजस्व संकलनमा कमी आएको छ । यस ६ महिनाको अवधिमा सरकारले ६१ प्रतिशत राजस्व संकलन गर्नुपर्नेमा मात्रै ३८ दशमलव ९५ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व विभागले जानकारी गराएको हो । यसर्थ ६ महिनाको अवधिमा लक्ष्य अनुसार राजस्व असुली गर्न सरकार असमर्थ रहेको स्पष्ट देखिएको छ ।

 

सरकारले चालु आवको ६ महिनामा ५ खर्ब ३७ अर्ब कुल राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा उक्त अवधिमा मात्रै ४ खर्ब ५५ अर्ब रुपैंया राजस्व संकलन भएको छ । पछिल्लो समय मुलुकको आयातमा आएको संकुचनको असर भन्सारबाट उठ्ने राजस्वमा पर्दा ६ महिनाको अवधिमा राजस्व संकलनको रकम ४ खर्ब ५५ अर्ब रुपैंयामा सीमित रहन पुगेको छ ।

 

भन्सार क्षेत्रको अवस्था कमजोर भएकै कारण यस अवधिमा कुल राजस्वको वृद्धिदर अपेक्षित नभएको अर्थ मन्त्रालयको दाबी छ ।

यद्यपी सरकारले पुस महिनाको राजस्व संकलनको लक्ष्य भने प्राप्त गरेको अर्थ मन्त्रालयको भनाई छ । अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख धनीराम शर्माका अनुसार पुस महिनामा मात्रै सरकारले १ खर्ब ३५ अर्ब रुपैंया राजस्व संकलनको लक्ष्य राखेको थियो । तर उक्त १ महिनाको अवधिमा सरकार ३ खर्ब रुपैंयाभन्दा बढी राजस्व रकम संकलन गर्न सक्षम रहेको प्रमुख शर्माले जानकारी गराएका छन् ।

 

सरकारले संकलन गरेको पुस महिनाको कुल राजस्व मध्ये कर राजस्वतर्फ करिब २ खर्ब ९२ अर्ब र गैरकर राजस्वतर्फ ४१ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, आन्तरिकतर्फ ८१ अर्ब रुपैयाँ मासिक लक्ष्य निर्धारण गरिएकामा ७५ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको विभागले बताएको हो । ठूला करदाता कार्यालय र मध्यमस्तरीय कार्यालय दुवैको संकलन लक्ष्यभन्दा कम रहन गएपछि यसको असर समग्र राजस्व संकलनमा परेको छ ।

 

चालु आवको लागि सरकारले कुल ११ खर्ब १२ अर्ब रुपैंया राजस्व संकलनको लक्ष्य निर्धारण गरेको छ । पुस महिनाको राजस्व असुलीको लक्ष्य पुरा भएपनि विगत ६ महिनादेखि नै सरकारले लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको अर्थ मन्त्रायको भनाई छ । सरकारले यस आवको राजस्व असुलीको लक्ष्य प्राप्त गर्न अझैपनि ६१ दशमलव ५ प्रतिशत राजस्व संकलन हुनुपर्ने देखिएको छ ।

 

विगतको इतिहास हेर्दा वार्षिक औसत २० देखि २२ प्रतिशतका दरले राजस्व वृद्धि हुने गरेको पाइन्छ । तर यस चालु आवमा भने सरकारले ३० प्रतिशतको राजस्व वृद्धिदर हासिल गर्ने महत्वकांक्षी लक्ष्य निर्धारण गरेको छ । पुसको महिनाको लक्ष्य पूरा भएपनि सरकारमाथि आगामी महिनाका राजस्व संकलन र लक्ष्यको पुरानो अन्तर कसरी कम गर्ने भन्ने चिन्ता यथावत रहेको छ ।

 

ठूला करदाता कार्यालयबाट भएको राजस्व संकलन करिब ९२ प्रतिशत छ । ठूला करदाता कार्यालयअन्तर्गत रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीले अनुमान गरिएभन्दा थोरै राजस्व बुझाएका विभागले जानकारी गराएको हो ।

 

पुसमा नेपाल टेलिकमले ३ अर्ब २२ करोड र एनसेल प्रालिले ३ अर्ब ६६ करोड रुपैयाँ मात्र राजस्व बुझाएका छन् । यसैगरी, एनसेलले ४ अर्ब ३२ करोड रुपैयाँ लाभकर सरकारलाई बुझाएको छ ।

 

भन्सारतर्फ पुसमा ३६ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएकामा ३० अर्ब रुपैयाँ मात्र संकलन भएको छ । गैरकरतर्फ सरकारले पुसमा नेपाल राष्ट्र बैंकबाट ५ अर्ब ५० करोड रुपैयाँ असुली गरेको विभागले स्पष्ट पारेको हो ।

 

सरकारी लक्ष्य भेटाउनकै लागि नेपाल आयल निगमबाट मंगलबार नै २ अर्ब २० करोड रुपैयाँ लाभांश प्राप्त भएको छ । यसैगरी, नेपाल विद्युत प्राधिकरणले पनि ६ महिनामा २ अर्ब रुपैयाँ ब्याज बुझाएको छ भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि यस अवधिमा कुल १ अर्ब ८ करोड रुपैयाँ लाभांश बुझाएको छ । नेपाल बैंकले सो अवधिमा ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड र जलविद्युत लगानी तथा विकास कम्पनीले ६६ करोड रुपैयाँ लाभांश बुझाएका छन् ।

 

भन्सार क्षेत्रको अवस्था कमजोर भएकै कारण यस अवधिमा कुल राजस्वको वृद्धिदर अपेक्षित नभएको अर्थ मन्त्रालयको दाबी छ ।

 

‘आयातमा आएको गिरावटका कारण नै समस्या भएको हो’, मन्त्रालयका राजस्व प्रमुख शर्मा भन्छन्, ‘अर्थ मन्त्रालयको आन्तरिक राजस्वतर्फको आयकर र मूल्य अभिवृद्धि कर ठीक भए पनि भन्सार महसुल लाग्ने वस्तुको आयात ६ दशमलव ९ प्रतिशतले घटेकाले त्यसको असर राजस्व संकलनमा परेको छ’

 

विगतको इतिहास हेर्दा वार्षिक औसत २० देखि २२ प्रतिशतका दरले राजस्व वृद्धि हुने गरेको पाइन्छ । तर यस चालु आवमा भने सरकारले ३० प्रतिशतको राजस्व वृद्धिदर हासिल गर्ने महत्वकांक्षी लक्ष्य निर्धारण गरेको छ । पुसको महिनाको लक्ष्य पूरा भएपनि सरकारमाथि आगामी महिनाका राजस्व संकलन र लक्ष्यको पुरानो अन्तर कसरी कम गर्ने भन्ने चिन्ता यथावत रहेको छ । पछिल्ला ५ महिनामा राजस्व संकलन लक्ष्य अनुसार नहुँदा ८४ अर्ब रुपैयाँको अन्तर पुगिसकेको छ । सुरुका केही महिनामा अन्तः शुल्क शून्य हुँदा त्यसको असर राजस्वमा परेको थियो, तर अहिले त्यस क्षेत्रमा भने राम्रो संकेत देखिएको अर्थ मन्त्रनलयको ठम्याई छ ।

 

यता,आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोदबहादुर कुँवरले भने आन्तरिकतर्फ २५ प्रतिशत भन्दा बढीको राजस्व वृद्धि गर्न सकिने बताएका छन् ।

 

‘गत कात्तिकमा सरकारले आर्थिक ऐन संशोधन गरेसँगै मंसिरपछि आन्तरिक बजारमा अन्तःशुल्क संकलन राम्रो देखिएको छ । यसले उद्योगको आयकर र मूल्य अभिवृद्धि करसमेत बढाउने भएकाले आन्तरिकतर्फको राजस्वमा केही वृद्धि हुने संकेत देखिएको छ’, उनी भन्छन् ।

 

त्यस्तै सरकारले ३५ प्रतिशत आयकर बढाउने लक्ष्य राखेको अवस्थामा दूरसञ्चार क्षेत्रको कमजोर वृद्धिदर भने निकै बोझको विषय बनेको महानिर्देशक कुँवर बताउँछन् । यस्तै,विभागले पुरानो अन्तर घटाउन अब बजार अनुगमन, कर परीक्षण र अनुसन्धान अघि बढाउने तयारी गरेको समेत उनले स्पष्ट पारे ।

गुगलको माउ कम्पनी अल्फाबेट पनि ट्रिलियन डलर (हजार अर्ब डलर) क्लवमा Read Previous

गुगलको माउ कम्पनी अल्फाबेट पनि ट्रिलियन डलर (हजार अर्ब डलर) क्लवमा

पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै Read Next

पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै