बिद्युतीय कारोवार गरि १० प्रतिशत भ्याट फिर्ता लिने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया

काठमाडौं। पछिल्लो समय सरकारले विद्युतीय माध्यमबाट मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने उपभोक्तालाई १० प्रतिशत रकम फिर्ता दिने व्यवस्था लागु गरेको छ । करदातालाई जागरुक गराई अनिवार्य रुपमा बिल लिने व्यवस्थालाई व्यवस्थित गर्ने उद्देश्यसहित यही पुस २५ गतेदेखि उक्त व्यवस्था लागु भएको आन्तरिक राजस्व विभागले जानकारी गराएको हो । यसपश्चात अब विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गरे १० प्रतिशत रकम सम्वन्धित व्यक्तिको खातामा सोझै फिर्ता हुने भएको छ ।

 

विभागका अनुसार उपभोक्ताहरुले वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतिय माध्यमबाट गरेमा १० प्रतिशत रकम सम्वन्धित व्यक्तिकै खातामा फिर्ता हुने र त्यसमा करसमेत कट्टा नहुने व्यवस्था रहेको छ । सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट अनुसार नै किनमेलमा अनलाइनबाट रकम तिरेमा भ्याटको १० प्रतिशत उपभोक्ताले नै फिर्ता पाउने व्यवस्था गरेको हो ।

 

‘वस्तु तथा सेवा खरीदमा कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लिखित भ्याटको १० प्रतिशत स्वतः भुक्तानीकर्ताको खातामा जम्मा हुने व्यवस्था मिलाएको’ बजेटमा उल्लेख गरिएको आन्तरिक राजस्व विभागका प्रवक्ता तथा सूचना अधिकारी बिदुर ढकालले बताए । बजेटले मूल्य अभिवृद्धि कर संकलन प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको समेत उनले स्पष्ट पारेका छन् ।

 

उपभोक्ताले विद्युतीय भुक्तानीसम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने तरिका छनोट गर्नुपर्नेछ । त्यसपछि बिक्रेताले विवरण भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकले निर्धारण गरेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसार स्वःचालित रुपमा पठाउनु पर्नेछ ।

 

विभागका अनुसार, भिसा, डेबिट, क्रेडिट कार्डबाट हुने भुक्तानीमा भने हाल यस्तो सुबिधा पाइने छैन । नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरु इसेवा, आईएमई पे, खल्ति, थैली, प्रभु पे, सेल पे लगायतबाट भुक्तानी गर्दा मात्रै १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था हालका लागि लागु भएको हो ।

 

उपभोक्ताले विद्युतीय भुक्तानीसम्बन्धी उपकरण जस्तै अन्तर बैंक भुक्तानी, विद्युतीय बैंकिङ्, मोबाईल बैंक, ई–मनीका माध्यमबाट वस्तु वा सेवा खरिद गर्दा कर फिर्ता हुने विभागले जानकारी गराएको हो ।

 

उपभोक्ताले भुक्तानी गरेको कर रकम र फिर्ता पाएको रकमको विवरण विभागको एकिकृत कर प्रणालीमा स्वचालित रुपमा उपलब्ध हुने व्यवस्था रहेको समेत विभागले खुलाएको छ । त्यस्तै, कर फिर्ताका लागि भुक्तानी हुने कारोबारको न्यूनतम सीमा १ हजार र अधिकतम सीमा १ लाख रुपैयाँ तोकिएको छ ।

 

 

भ्याट फिर्ताको यस्तो छ प्रक्रिया

 

यस्तो सुविधा दिन बिक्रेताले कर लाग्ने वस्तु वा सेवाको आपूर्ति गर्दा मूल्य अभिवृद्धि कर नियमावलीमै उल्लिखित कर बिजकको ढाँचामा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

भुक्तानीपछि बिक्रेताले उपभोक्ताले तिर्ने भ्याटको १० प्रतिशत हुने रकमसमेत देखिने गरी बिक्रेताले विद्युतीय बिजक जारी गर्नुपर्छ । यसरी बिजक जारी भएपछि स्वचालितरुपमा बिक्रेताको बैंक खाताबाट उपभोक्ताको बैंक खातामा रकम फिर्ता हुनेछ ।

 

भुक्तानी गरेको कर तथा बिक्रेताले उपभोक्ताको बैंक खातामा फिर्ता गरेको कर रकमको विवरण विभागको एकीकृत कर प्रणालीमा स्वचालित रूपले प्राप्त हुने व्यवस्था गरिएको छ । त्यस्तै, विद्युतीय भुक्तानीका लागि आवश्यक सफ्टवेयर विभागमा सूचीकृत हुनुपर्ने उल्लेख छ । बिक्रेताले विद्युतीय भुक्तानीसम्बन्धी उपकरणका माध्यमबाट उपभोक्तालाई कर फिर्ता दिने प्रयोजनका लागि विभागमा निवदेन दिनुपर्ने व्यवस्था रहेको छ ।

 

उपभोक्तालाई फिर्ता गरेको कर रकम बिक्रेताले कर विवरणमार्फत हिसाब मिलान गर्नेछ । बिक्रेताले विद्युतीय बिजकसम्बन्धी कार्यविधि, २०७४(संशोधनसहित) बमोजिम विभागमा सूचीकृत गरिएको विद्युतीय बिजकसम्बन्धी सफ्टवेयर प्रयोग गरी बिजक जारी गर्नु छ ।

 

त्यस्तै, बिक्रेताले विद्युतीय भुक्तानीसम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी प्राप्त गर्ने र फिर्ता गर्ने गरी भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकसँग विद्युतीय माध्मयबाट आबद्ध हुनु आवश्यक छ । बिक्रेताले विद्युतीय भुक्तानीसम्बन्धी उपकरणका माध्यमबाट उपभोक्तालाई कर फिर्ता दिने प्रयोजनको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ र उक्त निवेदन विभागको एकीकृत कर प्रणालीमार्फत पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

 

उपभोक्ताले विद्युतीय भुक्तानीसम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने तरिका छनोट गर्नुपर्नेछ । त्यसपछि बिक्रेताले विवरण भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकले निर्धारण गरेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसार स्वःचालित रुपमा पठाउनु पर्नेछ ।

 

कर लाग्ने वस्तु वा सेवा आपूर्ति गरी आफ्नो बैंक खातामा भुक्तानी प्राप्त गर्ने, भुक्तानी प्राप्त भएपछि आफ्नोबैंक खाताबाट तत्कालै स्वःचालितरुपमा रकम उपभोक्तालाई फिर्ता गर्ने तथा यसरी कर फिर्ता गर्दा त्यस्तो कारोबार, उपभोक्ताको विवरण र फिर्ता हुने रकमको यकिन गर्ने कार्य बिक्रेताले गर्नुपर्ने हुन्छ । त्यसैगरी, बिक्रेताले विद्युतीय भुक्तानीसम्बन्धी उपकरणका माध्यमबाट उपभोक्ताको खातामा फिर्ता गरेको कर रकम प्रत्येक कर अवधिको कर विवरण पेस गर्दा उक्त कर विवरणको अन्य थपघट महलको क्रेडिटतर्फ उल्लेख गर्नुपर्ने छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्वको साधारण सेयर आउने Read Previous

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्वको साधारण सेयर आउने

कनेक्ट आइपिएसको मासिक कारोबार १० अर्ब नाग्यो Read Next

कनेक्ट आइपिएसको मासिक कारोबार १० अर्ब नाग्यो