काठमाडौं । अबको १ वर्षमा कमलपोखरी पूर्ण निर्माण सम्पन्न हुने भएको छ । आज बिहीबार कमलपोखरी पुननिर्माणकाे शिलान्यास भएको हो । महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी र वडाध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास क्रममा बोल्दै मेयर शाक्यले सम्पदा पुननिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा प्राथमित्ता दिइएको बताए । उनले पाेखरीलाई जीबन्त बनाउन नजिकै रहेकाे प्रहरी कार्यालयलाई समेत अर्को स्थानमा सारिने जानकारी दिए ।

महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पानी पुनभरण व्यवस्था मिलाउन सिमेन्टको जडान नराखिने बताए । पोखरी पुननिर्माणका लागि ९ करोड ४६ लाख ९९ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । कमलपोखरी निर्माण गर्न धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार रुपैयाँ ठेक्का पाएको छ । महानगरले असार ६ गते निर्माणको कार्यादेश दिएको हो ।

२०७७ असार १५ गतेभित्र निर्माणका सबै काम सक्नु पर्ने शर्तका आधारमा निर्माण पक्षले पार्क समेतकाे पोखरीमा वरिपरि ठूला—ठूला ढुंगाको छापिएको सिंढी बनाउनेछ । पार्क अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना—साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौताराहरु पनि निर्माण गरिनेछन् । पोखरीको पूर्वतर्फबाट ६० मिटरसम्म भित्र पानीतर्फ जान मिल्ने संरचना हुनेछ ।
पोखरी वरिपरि बिजुलीबत्ती जडान गरेर झिलीमिली पारिनेछ । त्यहाँ खुल्ला व्यायाम गर्ने ठाउँ, व्याटमिन्टन र बास्केटबल कार्ट समेत रहने छ । पूर्वतिर मुल गेट हुने पोखरी प्रवेश गर्न ३ वटा प्रवेश द्वार बनाइने छन् । याे पाेखरी करीब ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।