नेदरल्याण्ड । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटे साइकलमा कार्यालय जाने गरेका कारण चर्चित छन् । हेग स्थित उनको कार्यालयमा आवतजावत गर्दा उनले साइकलको बाक्लो प्रयोग गर्ने गरेका छन् ।
‘मैले विगत १० वर्षमा खासै साइकल चढिनँ । तर, विगत २ वर्ष देखि मैले फेरी साइकल चढ्न थालेको छु । मौसम अनुकुल हुने वित्तिकै म कार्यालय साइकल मै जान्छु’ मार्क भन्छन् ।
मार्कले नेतृत्व प्रदान गरिरहेको देश नेदरल्याण्डमा मानिसहरु साइकल चढ्न खुबै मनपराउँछन् । त्यहाँ मान्छेको कुल जनसंख्या भन्दा साइकलहरुको संख्या धेरै छ । नेदरल्याण्डमा २ करोड ३० लाख साइकल रहेका छन् । नेदरल्याण्डमा हुने कुल यात्राको २५ प्रतिशत यात्रा साइकलमा हुने गरेको छ भने कुल साइकल यात्राको २५ प्रतिशत दैनिक कामको लागि हुने गरेको छ ।

मार्क उनको देशमा साइकल लोकप्रिय हुनुको कारण मानिसहरुको साइकल प्रेम, भिडभाड घटाउने कडी र पर्यावरण प्रतिको सचेतनालाई मान्छन् । ‘१९औं शताब्दीको अन्त्यदेखि नै हामीमा साइकल चढ्ने बानीको विकास हुन थालेको हो’, उनी भन्छन् ।
पूर्वाधार पनि अनुकुल
देशको समथर भू–भाग साइकलको लागि एकदमै अनुकुल छ । यसका अलावा अन्य यातायात पूर्वाधारहरु पनि साइकललाई प्रर्बद्धन गर्ने गरि बनाइएका छन् । नेदरल्याण्डमा ३५ हजार किलोमिटर साइकल लेन रहेको छ भने उटरेक्ट सहरमा बिश्वकै ठूलो भूमिगत साइकल पार्किङ रहेको छ ।
रुट आफु प्रधानमन्त्री भएपछि यो प्रणालीलाई नजिकबाट नियाल्ने मौका पाएको र निकै प्रभावित भएको बताएका छन् । ‘हामीसँग १० वर्ष अगाडीको भन्दा निकै धेरै साइकल ट्राफिक बत्तिहरु र लेनहरु बनेका छन्’, मार्क भन्छन्,‘र, यो सहरको मात्र नभएर सहर बाहिरको समुदायहरुको पनि कुरा हो । यसले बिशेष गरि स–साना बच्चाहरुलाई सुरक्षित ढंगले बिद्यालय जान ठूलो सहयोग पुर्याएको छ’

मानिस र पृथ्वीको लागि स्वस्थकर
मानव स्वास्थ्यको लागि साइकलको फाइदाहरु सबैलाई थाहा भएकै कुरा हो । यसले चिनी रोग र मुटु सम्बन्धी रोगहरुबाट मुक्ति पाउन वा नियन्त्रण गर्न मानिसलाई सहयोग पुर्याउँछ । यसले मानसिक स्वास्थ्यलाई पनि तन्दुरुस्त राख्छ ।
सन् २०१५ मा नेदरल्याण्डमा गरिएको एक अध्ययनले ६ हजार ज्यान साइकलको प्रयोगका कारण जाखिएको देखाएको थियो । साथै, मानिसहरुको औसत सरदर आयुमा ६ महिनाको बढोत्तरी भएको अध्ययनले देखाएको थियो । साइकलको प्रयोगले नेदरल्याण्डको अर्थतन्त्रमा २ करोड डलरको बचत गर्न पनि सघाएको छ ।
पर्यावरणमा साइकलको प्रयोगको प्रभाव त झन् धेरै ठूलो छ । गाडीबाट साइकल चढ्न थाल्दा औसतमा प्रति किलोमिटर १५० ग्रामस कार्वन डाइअक्साइड उत्र्सजन कम हुने गरेको तथ्याङ्कले देखाएको छ ।
रुटले भने झैं,‘नेदरल्याण्डको पुरै प्रणालीले मानिसहरुलाई स्वस्थ विकल्प छान्न प्रेरित गरिरहेको छ ’