बैशाख देखि रोकिएको बागमती ‘ब्यूटीफिकेसन’को काम पुन सुचारु

काठमाडौं । बैशाखदेखि रोकिएको बागमती करिडोरको ‘ब्यूटीफिकेसन’ निर्माणको काम सञ्चालनमा आएको छ । गृह मन्त्रालय र सहरी विकास मन्त्रालयको पहलमा केही दिन यता ब्यूटीफिकेसनको कामलाई निरन्तरता दिइएको हो ।

 

५ दिन यता उक्त ब्यूटीफिकेसनको काम शुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए । उनले मुआब्जाको विषयमा पनि कृषि उप–समितिले अध्ययन गरिरहेको बताए ।

 

ब्यूटीफिकेसनको पहिलो चरणमा काठमाडौंको गोकर्णदेखि गुहेश्वरीसम्म फुटपाथ बनाउने, रेलिङ, साइकल लेन, पार्क लगायतका पूर्वाधार निर्माणको काम गरिने चित्रकारले बताए । करिडोर र खोलाको विचमा हुने खाली ठाउँलाई पार्कको रुपमा निर्माण गरिने उनले जानकारी दिए ।उनका अनुसार केही दिन यता सरसफाइ र इट्टा लगाउने काम भइरहे पनि अर्काे २ साता भित्र पूर्ण रुपमा काम शुरु हुने छ ।

 

दोस्रो चरणमा थापाथली पुल तल सरसफाइको काम भइरहेको छ भने सँगै रहेका मठ–मन्दिर मर्मत सम्भारको काम पनि भइरहेको उनले बताए । यस्तै घाटहरु मौलिक स्वरुपले विकास गरिने उनले जानकारी दिए । मुआब्जाको समस्या नआए २ महिना भित्र सकिने ठेकेदारको भनाई रहेको पनि उनले बताए ।

 

सरकारले झण्डै १ अर्ब ६० करोड रुपैयाँको लगानीमा ‘रिभर व्यूटीफिकेसन पार्क’ निर्माण गरिरहेको छ । सन् २०१६ मा उक्त योजना अन्तर्गत ब्यूटीफिकेसन पार्क निर्माणको काम कालिका कन्स्ट्रक्सनले ठेक्का लिएको हो ।

 

कालिकाले सन् २०१९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी ब्यूटीपार्क निर्माणको काम ठेक्का लिएको चित्रकारले जानकारी दिए । बागमती कोरिडोरको २० मिटर चौडाई मध्य १० मिटरमा सडक र अर्को १० मिटरमा पार्क निर्माण गर्दै लैजाने उनले बताए ।

 

गोकर्णदेखि गुहेश्वरी सडकखण्डको ७ किलोमिटर सडकमा पहिलो चरणमा ब्यूटी पार्क निर्माण भइरहेको छ । गत बैशाखदेखि जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गर्नु पर्ने भएकाले ब्यूटीफिकेसनको काम रोकिएको थियो ।

सरकारका कारण अनाधिकृत आयात बढ्यो, राजश्व घट्यो: चेम्बर Read Previous

सरकारका कारण अनाधिकृत आयात बढ्यो, राजश्व घट्यो: चेम्बर

धुलिखेल–बर्दिवास सडक स्तरोन्नति शुरु Read Next

धुलिखेल–बर्दिवास सडक स्तरोन्नति शुरु