काठमाडौं । पछिल्लो १ महिनादेखि उकालो लागेको शेयर बजारले दिनदिनै गति बढाउँदै गएको छ । गतसात करीब ४६ अंकले बढेको बजार यो साताको पहिलो दिनमै करीब ४३ अंकले बढेको छ । कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी आएको छ । एकै दिनमा सवा अर्बभन्दा बढीकाे काराेबार भएकाे छ ।
पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव नहुनु, बजारलाई प्रभावित पार्ने नीति नियम नआउनु, रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुनु लयागतका कारणले लगानीकर्ताको मनोबल बढ्दा बजारले गति लिएको हो । लगातार बजार बढ्न थालेपछि लगानीकर्ता थप उत्साहित भएका छन् । सुधारन्मुख बजारले लगानीकर्तामा बुलिस ट्रेन्ड समात्न लागेको हो कि भन्ने आशा जगाएको छ ।
बढ्दो बजारमा लगानीकर्ता माइक्रोफाइनान्स र बीमा कम्पनीहरुको शेयरमा झुम्मिएका छन् । उच्च कारोबार हुने कम्पनीहरुमा यी क्षेत्रका कम्पनीहरु रहेका छन् ।

शेयर बजार मापक सूचक नेप्से ४२.६१ अंकले बढेर १२५५.७२ विन्दुमा पुगेको छ । यो पछिल्लो ६ महिना यताकै उच्च हो । आज १७९ कम्पनीको १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ रुपैयाँ बराबरको कारोबार भएको छ । ३८ लाख ३१ हजार ०५४ कित्ता शेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ ओटै समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४०९.२७ अंकले बढेको छ । बैंकिङ समूह पनि २७.३ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सको शेयर शीर्ष स्थानमा रह्यो । यसको ५ करोड ८८ लाख १९ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।
आज करिब साढे २ दर्जन कम्पनीको शेयर मूल्मा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेका छन् । सर्किट लाग्ने कम्पनीहरुमा अधिकांश माइक्रोफाइनान्स र बीमा कम्पनीहरु रहेका छन् । आज माउन्टेन हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै २.१५ प्रतिशतले घटेको छ ।