काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चैत २५ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ।
बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआइसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गर्न लागेको हो।
बैंकले १ हजार रुपैयाँ दरले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । सोमध्ये ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधरणका लागि बिक्रीमा आउने छ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमा १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि आरक्षित गरिएको छ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा चैत २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै ऋणपत्र बिक्री नभएका ढिलोमा वैशाख ८ गतेसम्म आवेदन दिन पाइन्छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आइआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्दछ।
ऋणपत्रको ब्याज प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ।