
काठमाडौं । नेपालमा सम्पत्ति शुद्धीकरण लगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधि उल्लेख्य मात्रामा बढेको पाइएको छ ।
‘फाइनान्सियल इन्टेलिजेन्स युनिट-एफआईयू नेपाल’ ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपालमा शंकास्पद कारोबारको उजुरी करिब २४ प्रतिशतले बढेको देखाएको हो ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ५ हजार ३३५ वटा शंकास्पद कारोबार (सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङ/एसटीआर र सस्पिसियस एक्टिभिटी रिपोर्टिङ-एसएआर) का उजुरी परेकोमा गत आव २०८०/८१ मा बढेर ७ हजार ३३८ पुगेको छ ।
गत वर्ष वाणिज्य बैंकबाट सबैभन्दा धेरै ८४.२३, विकास बैंकबाट ७, वित्त कम्पनीबाट ३, भुक्तानी प्रणाली सञ्चालक लगायतबाट २.४५ र रेमिट्यान्स कम्पनीबाट २.४६ प्रतिशत उजुरी परेको प्रतिवेदनमा उल्लेख छ ।
गत आवमा कुल २३ अर्ब २६ करोड २२ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको उजुरी परेको हो । गत आर्थिक वर्षमा प्राप्त उजुरीमध्ये सम्पत्ति शुद्धीकरण सम्बन्धी उजुरी ३ हजार ४१७, कर छलीलगायत अपराधसँग सम्बन्धित २ हजार ४९८, मुद्रा बैंकिङ तथा वित्तसम्बन्धी २ हजार १७, ठगीसँग सम्बन्धी ९२७, फार्म तथा साझेदार व्यवसायसँग सम्बन्धी ६८१, क्यासिनो तथा जुवासम्बन्धी ४२८ र बाँकी अन्य क्षेत्र विभिन्न क्षेत्रसँग सम्बद्ध उजुरी रहेको प्रतिवेदनले जनाएको छ ।
मुलुकका सबै क्षेत्रमा सुशासनको समस्या रहेकाले आर्थिक गतिविधि बढेसँगै वित्तीय अपराध सम्बन्धी उजुरी पनि बढेको हो । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङका लागि एकाइको गोएएमएल प्रणालीमा आबद्ध गरिएको छ ।
सो प्रणालीमा प्राप्त भएका अधिकांश शङकास्पद कारोबार एवं गतिविधि प्रतिवेदन, कर छलीसम्बन्धी, मौद्रिक एवं बैंकिङ, विदेशी विनिमय, बिमा, सहकारीसम्बन्धी, ठगीसम्बन्धी चिठ्ठा जुवा, सट्टेबाजीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको पाइएको छ ।
प्राप्त शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई आव २०८०/८१ मा जम्मा विश्लेषण भएको संख्या १ हजार ६३२ पुगेकामा सोमध्ये ८८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायमा कारबाहीका लागि प्रवाह गरिएको छ । सोमध्ये ७४६ वटा प्रतिवेदन एकाइले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनःविश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ ।
सन् २०२३ मा नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन सम्पन्न भई एक वर्षको अवलोकन अवधिमा नेपालले विविध सुधार गरेको छ । हाल नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले थप अनुगमनको सूचीमा राखेपछि नेपालले सोबाट बाहिरिन तथा समयबद्ध कार्ययोजना कार्यान्वयन प्रयास गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा नेपालमा प्रयोग भइरहेका सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी कसुरको प्रकारका बारेमा उल्लेख छ । यसैगरी कसुर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्तिहरु जस्तै हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयात तथा निर्यातको माध्यमबाट हुने सम्पत्ति शुद्धीकरणलगायतका विषय समावेश छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने सूचक संस्थाले एकाइमा पेस गरेको सीमा कारोबारको संख्या आव २०७९/८० मा १६ लाख ९८ हजार ३९८ रहेकामा आव २०८०/८१ मा १६ लाख ९७ हजार ७१२ छ ।
अनुसन्धानकारी निकाय १६३९ पुगे
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रुपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आबद्ध अनुसन्धानकारी निकाय र नियामक निकायको संख्या १ हजार ६३९ पुगेको छ ।
पछिल्ला वर्षहरुमा अनुसन्धानकारी निकाय र नियामक निकायको संख्या क्रमशः वृद्धि हुँदै गएको हो ।