
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज थप २५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।
हप्तैपिच्छे प्रणालीबाट अर्बौं रुपैयाँ खिच्दै आएको राष्ट्र बैंकले आज फेरि निक्षेप बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी वैशख ७ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।
एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा अहिले इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.५३ प्रतिशतमा झरेको छ ।
गत आवको कात्तिक यता ब्याजदर लगातार घट्दो क्रममा छ । राष्ट्र बैंकले पनि एकपछि अर्को लचकता अपनाउँदै आएको छ । तर, अर्थतन्त्रमा आएको मन्दी र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग अपेक्षित रुपमा बढ्न सकेको छैन । जसकारण पैसा बैंकिङ प्रणालीमै थुप्रिरहेको छ ।