नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ ।

प्रदेश च्याप्टरको बुधबार भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन् ।

उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए । उनले गतिशिल समय र तीव्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए ।

अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको बताए । उनले सरकारले विगतदेखिका समस्या गर्न, निजी क्षेत्रका समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

हाल सुधार गरिएको कानुनमा सुधार मात्रै रहेको उनले बताए । सुधारको काम, अनुकूल व्यवसायिक वातावरण थप बढाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरूलाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए ।

देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउँदै उनले आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउन समेत आग्रह गरे ।

‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरूको संख्या ठूलो छ । उनीहरूलाई देशमै उद्यमी बनाउन हौसला प्रदान गर्न आवश्यक छ,’ उनले भने, ‘सरकारले आगामी बजेटमार्फत युवाहरूलाई प्रोत्साहन गर्ने नीति लिने विश्वास लिएको छु ।’

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायनता बढिरहेको बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर यही उद्यमी बन्ने युवाहरूलाई धन्यवाद व्यक्त गरे ।

उनले उद्योग व्यवसाय ओरालो लागिरहेको, निराशा बढिरहेको र थोरै भए पनि उद्योगी व्यवसायीहरू समेत पलायन हुने अवस्था सिर्जना हुनु निकै चिन्ताको विषय रहेको बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुरुपका गतिविधि समेत गर्दै आएको छ ।

५ करोड राजस्व चुहावट गर्ने दुई कम्पनी विरुद्ध मुद्दा दायर Read Previous

५ करोड राजस्व चुहावट गर्ने दुई कम्पनी विरुद्ध मुद्दा दायर

८ महिनामा बंगलादेशबाट ३ अर्बको आयात, २७ करोडको निर्यात Read Next

८ महिनामा बंगलादेशबाट ३ अर्बको आयात, २७ करोडको निर्यात