
वीरगञ्ज (पर्सा) । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ५ करोड ७ लाख ९४ हजार ९८२ रुपैयाँ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको होे ।
अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर-७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ १ करोड ६५ लाख ६० हजार ५९३ र मूल्यअभिवृद्धि करतर्फ ५८ लाख ३७ हजार ६८३ गरी कुल २ करोड २३ लाख ९८ हजार २७६ रुपैयाँ बिगो कायम गरिएको उनले जानकारी दिए ।
उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने ४ करोड ४७ लाख ९६ हजार ५५३ रुपैयाँ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको हो ।
यसैगरी वीरगञ्ज महानगर-१६ का सञ्जयकुमार कुर्मीले शिव शन्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ १९ लाख ६० हजार १५१ रुपैयाँ र मूल्यअभिवृद्धिकरतर्फ बिगो १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार २१४ रुपैयाँको शतप्रतिशत जरिवाना गरी ५९ लाख ९८ हजार ४२८ रुपैयाँ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको छ ।
अस्थायी इजलासमा हालसम्म राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनियम अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भएका छन् ।