ओलाङचुङगोलामा सुक्खा बन्दरगाह निर्माणको प्रयास, इन्टरमोडलले पठायो पत्र

समुद्री तहदेखि ५२०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, टिप्ताला नाकामा चीनले निर्माण गरेको संरचना ।

फुङ्लिङ (ताप्लेजुङ) । नेपाल-चीन व्यापार प्रवद्र्धनका लागि सुक्खा बन्दरगाह निर्माण गर्न ओलाङचुङगोलाका स्थानीयले माग गरेका छन् ।

फक्ताङलुङ गाउँपालिका-७ वडाध्यक्ष छेतेन लामाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आग्रह गरेका हुन् ।

ओलाङचुङगोलाका मवाटार क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलद्वारा पठाइएको पत्रमा व्यापारजन्य पूर्वाधार विकास गर्दै मुलुकको आर्थिक गतिविधि प्रवद्र्धन गर्न सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीजस्ता संरचनाको विकास आवश्यक रहेको उल्लेख गरिएको छ ।

ओलाङचुङगोला हुँदै चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने सडक निर्माण भइसकेको र उत्तर-दक्षिण व्यापारिक मार्गका रूपमा सबैभन्दा छोटो दूरीको सडक भएकाले सो क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने समितिको निष्कर्ष छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले सन् २०७८/७९ मा सो नाकाको पूर्वसम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ । फक्ताङलुङ गाउँपालिका-७ कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि अनुरोध गरेको छ ।

समितिले सकारको आगामी वर्षको नीति तथा कार्यक्रममा ओलाङचुङगोलामा सुक्खा बन्दरगाह निर्माण परियोजना समावेशका साथै त्यसनिम्ति बजेट विनियोजन गर्न आग्रह पनि गरेको छ । रासस

नबिल बैंकको कायममुकायम सीईओमा मनोज ज्ञवाली Read Previous

नबिल बैंकको कायममुकायम सीईओमा मनोज ज्ञवाली

हिमाल आरोहणको सिजन सुरू, २४ देशका आरोहीले पाए अनुमति Read Next

हिमाल आरोहणको सिजन सुरू, २४ देशका आरोहीले पाए अनुमति