काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ ।
लघुवित्तले संस्थापक र साधरण सेयरधनीको सेयर अनुपात मिलाउन एफपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२.५ कित्ता एफपीओ बिक्रीमा ल्याउने भएको हो ।
लघुवित्तको एफपीओमा चैत २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै कित्ताका लागि आवेदन नपरेमा ढिलोमा वैशाख ४ गतेसम्म आवेदन दिन पाइने छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी इस्युअर’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।
हाल ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशन ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।