फस्टाउँदै खानेतेलको व्यापार, ८ महिनामा ५६ अर्बको निर्यात

काठमाडौं । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११.२० र निर्यात ५७.२० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ ।

पछिल्लो आठ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गर्दा नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास (सोयाबिन)तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, ७ अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, ५ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको अलैंची, ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ ।

विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको घाटा बेहोरेको छ ।

पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा ५ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गत साउनदेखि फागुनसम्म भारतबाट ६ खर्ब ८८ अर्ब ६८ करोडको आयात हुँदा १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । चीनसँग २ खर्ब १९ अर्ब १८ करोड रुपैयाँको आयात र २ अर्ब १२ करोडको निर्यात हुँदा २१ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

साथै, अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकहरुसँग नेपालको व्यापारघाटा उच्च छ । उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ । अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ ।

सो अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँको डिजेल, ४२ अर्ब ८० करोड १७ लाख रुपैयाँको पेट्रोल र ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेका छ ।

त्यस्तै, ९अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन र २ अर्ब ११ करोड रुपैयाँ बराबरको अन्य सवारीसाधन आयात भएको छ । यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ बराबरको १४ लाख ७ हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ ।

आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिन निजी क्षेत्रको जोड Read Previous

आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिन निजी क्षेत्रको जोड

सेतो नम्बर प्लेटका विद्युतीय सवारीलाई हरियोमा परिवर्तन गर्न अदालतको परमादेश Read Next

सेतो नम्बर प्लेटका विद्युतीय सवारीलाई हरियोमा परिवर्तन गर्न अदालतको परमादेश