काठमाडौं । नेपालको व्यापार ७८.७५ प्रतिशत मुलुकसँगको घाटामा रहेको छ । भन्सार विभागका अनुसार नेपालले हाल १६० मुलुकसँग व्यापार गरिरहेकोमा १२६ देशसँगको व्यापार घाटामा रहेको हो ।
नेपालको जम्मा ३४ देशसँग मात्रै व्यापार नाफामा रहेको छ । अर्थात् ती देशबाट आयातभन्दा नेपालबाट धेरै निर्यात हुन्छ । यद्यपि, नाफामा रहेका मुलुकसँग कारोबार भने निकै न्यून रहेको छ ।
चालु आवको ८ महिना (साउन-फागुन)मा नेपालको व्यापार घाटा ६.२२ प्रतिशतले बढेको छ । फागुनसम्म नेपालले समग्रमा कुल ९ खर्ब ८७ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । जबकि ३४ देशसँगको व्यापार जम्मा १ अर्ब १ करोड रुपैयाँ मात्र नाफामा छ । १२६ देशसँग नेपालको ९ खर्ब ८८ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको सामान आयात गर्दा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ ।
नेपालको व्यापार नाफामा रहेका देशहरूमा धेरैजसो युरोपेली मुलुक रहेका छन् । यद्यपि, कारोबार रकम भने नगन्य मात्रमा रहेको छ । दक्षिण एशियाबाट अफगानिस्तान र माल्दिभ्ससँगको व्यापार नाफामा छ ।
नेपालले सबैभन्दा धेरै व्यापारघाटा भारतसँग व्यहोरेको छ । ८ महिनामा भारतसँग ५ खर्ब ६३ अर्ब व्यापार घाटा छ । पछिल्लो समय नेपालबाट उल्लेख्य मात्रामा सोयाबिन तेल भारत निर्यात भएकाले नेपाल भारत व्यापारको घाटा केही हदसम्म कम भएको हो । त्यस्तै, चीनसँग २ खर्ब १७ अर्बको व्यापार घाटा छ ।
अफगानिस्तानसँगको व्यापार सबैभन्दा धेरै नाफामा
व्यापार सम्बन्ध रहेका १६० देशमध्ये अफगानिस्तानसँग सबैभन्दा धेरै नाफामा रहेको छ । ८ महिनामा अफगानिस्तानसँग ६५ करोड ७९ लाख रुपैयाँ नाफामा रहेको छ ।
फागुनसम्ममा नेपालले अफगानिस्तानबाट १ करोड ५९ लाख १९ हजार रुपैयाँको सामान आयात गरेको छ भने ६७ करोड ३८ लाख ८५ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।
नेपालले माल्दिभ्सबाट ६६ हजार रुपैयाँको सामान आयात गर्दा १ करोड ५४ लाख ३९ हजार रुपैयाँको सामान माल्दिभ्स निर्यात गरेको छ । माल्दिभ्ससँगको व्यापारमा नेपाललाई १ करोड ५३ लाख ७४ हजार रुपैयाँ नाफा रहेको छ ।
त्यस्तै, डेनमार्कसँगको व्यापार १८ करोड ९० लाख रुपैयाँ नाफामा छ । ८ महिनामा डेनमार्कबट २६ करोड ६० लाख रुपैयाँको वस्तु आयात गर्दा नेपालबाट ४५ करोड ५१ लाख रुपैयाँको निर्यात भएको छ ।
त्यसैगरी, रसियासँगको व्यापार २ करोड ५० लाख, अस्ट्रियासँग २ करोड १२ लाख, लाटभियासँग १ करोड ५९ लाख, माल्दिभ्ससँग १ करोड ५३ लाख, क्रोयसियासँग १ करोड २२ लाख र आइसल्याण्डसँग १ करोड १० लाख रुपैयाँ नाफामा छ ।
नर्वे, मोरिसस, लेबनान, फिनिजी, मोरक्को, पपुवा न्युगिनी, बोस्निया हर्जगोभि, जाम्बिया, लेबनान, उरुग्वे लगायत २६ देशसँगको व्यापार नाफा १ करोड रुपैयाँभन्दा कम रहेको विभागको तथ्यांक छ ।