काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।
मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए। सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ ।
काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानीपोखरीबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि निर्देशनालयले विच्छ्याएका नयाँ वितरण सञ्जालका पाइपलाइनको सञ्चालन समेत सोही प्रणालीमार्फत गर्ने व्यवस्था मिलाइएको छ ।
सोही व्यवस्थाअनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र वितरण सञ्जालको सञ्चालन गर्न थालिएको हो ।
अत्याधुनिक प्रणालीमार्फत मेलम्चीको पानीको आपूर्तिसम्बन्धी विवरणसहितको प्रत्यक्ष जानकारी लिमिटेडको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था गरिएको जनाइएको छ ।