काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालत पाटन पुगेका छन् ।
जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै लामिछाने शुक्रबार उच्च अदालत पाटनमा निवेदन दिएका हुन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरोटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको उक्त आदेश बदरको माग गर्दै उनी उच्च अदालत पुगेका हुन् । रविले आफूलाई साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।
रवि यसअघि रुपन्देही जिल्ला अदालतको आदेश विरुद्ध पनि उच्च अदालत तुलसीपुरमा पुगेका थिए ।
सहकारी ठगी प्रकरणमा रवि कास्की, काठमाडौं, चितवन र रुपन्देही अदालतबाट धरौटीमा छुटेका थिए । पर्सा जिल्ला अदालतमा भने मुद्दा दर्ता हुन सकेको छैन ।