
काठमाडौं । सेयर बजारमा अन्तिम मिनेटमा चलखेल गरी पोजेटिभ/नेगेटिभ सर्किट लगाई मूल्य बढाउने/घटाउने प्रवृतिको अन्त्य हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) भोलि (चैत ७ गते)देखि अन्तिम १५ मिनेटमा भएको कारोबारको भारित औसत मूल्यलाई आधार मानि कम्पनीहरूको अन्तिम कारोबार मूल्य निर्धारण गर्ने भएको हो ।
नेप्से संचालक समितिको चैत ५ गते बसेको बैठकले ७ गतेदेखि कम्पनीको अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ नियम लागू गर्ने निर्णय गरेको हो । यसअघि नेपाल धितोपत्र बोर्डले कारोबार संचालन नियमावली (चौथौ संशोधन) २०८१ स्वीकृत गरी कार्यान्वयन गर्न नेप्सेमा पठाएको थियो । सोही अनुसार नेप्सले उक्त नियमावली कार्यान्वयनमा ल्याउन लागेको हो ।
नेप्सेका अनुसार बिहीबारदेखि कुनै पनि कम्पनीको अन्तिम कारोबार मूल्य अपराह्न २ः४५ बजेदेखि ३ बजेसम्म हुने कारोबारको भारित औसत मूल्यका आधारमा निकालिने छ । अर्थात् कुनै पनि कम्पनीको अन्तिम १५ मिनेटमा हुने हरेक कारोबार कित्ता र मूल्यको भारित औसत मूल्य निकाली त्यसैलाई अन्तिम मूल्य मानिनेछ । हरेक मिनेट वा सेकेन्डमा भएको कारोबारलाई छुट्टाछुट्टै हिसाब निकालिन्छ ।
२ः४५ बजेदेखि ३ बजेसम्म हुने हरेक कारोबार रकमलाई जोड गरेर कुल कारोबार रकम निकालिन्छ । सो अवधिमा कारोबार हुने कित्ता पनि जोडिन्छ । र, १५ मिनेटमा किनबेच भएको कित्ताले मूल्यलाई भाग गरेर आउने फललाई अन्तिम कारोबार मूल्य तोकिन्छ ।
अर्को दिन सोही भाउलाई आधार मानेर कारोबार खुला हुनेछ । यद्यपि, २ः४५ देखि ३ बजेसम्म कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने नेप्सेले जनाएको छ ।
आजसम्म कुनै पनि कम्पनीको अन्तिम कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मानिन्थ्यो । यसो हुँदै स्वार्थ समूहहरूले तीव्र चलखेल गरी कुनै पनि कम्पनीको मूल्य अस्वभाविक रुपमा बढाउने र घटाउने गर्दै आएका थिए ।
दिनभरी नेगेटिभ/पोजेटिभ सर्किट लागेर सेयर किनबेच नै नहुने अवस्थामा पनि अन्तिम मिनेटमा चलखेल एकैपटक १० प्रतिशत मूल्य बढाउने/घटाउने गरेका थिए । जसकारण साधरण लगानीकर्ता पस्दै आएका थिए । अब नयाँ व्यवस्थाले भने यस्तो चलखेलको अन्त्य गर्ने भएको छ ।