नेपालगञ्ज-गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

ठाकुरबाबा (बर्दिया) । राष्ट्रिय गौरवको हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्ज-गुलरिया खण्डमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो ।

विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका-११ लालपुर चोकसम्म कालोपत्र पूरा भएको आयोजना कार्यालयका इञ्जिनियर युवराज तिमिल्सिनाले बताए । हाल करिब ८ मिटर मात्र कालोपत्र गर्न बाँकी रहेको भन्दै उनले पहिलो (सिङ्गल) कालोपत्रको काम दुई दिनभित्र सम्पन्न हुने जानकारी दिए।

इञ्जिनियर तिमिल्सिनाका अनुसार यही चैत २५ गतेभित्र सम्पूर्ण खण्डमा कालोपत्र सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनीले २ अर्ब ७८ करोड २९ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।

आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले आगामी मङ्सिर २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले निर्धारित समयभन्दा अघि काम सम्पन्न हुने सम्भावना देखिएको बताए ।

नेपालगञ्ज-गुलरिया हुलाकी सडकको कूल लम्बाइ २७.६ किलोमिटर रहेको छ । जसमध्ये ११.६ किमी चार लेनमा निर्माण गरिएको सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनका अनुसार बाँकी १६ किमी खण्डको दुई लेनमध्ये करिब तीन किमी डबल कालोपत्र गर्न बाँकी छ ।

निर्माण कम्पनीले तीव्र गतिमा कार्य गरिरहेकाले सम्झौताअनुसार तोकिएको समयभन्दा अघि पूर्ण रूपमा कालोपत्र हुने उनले विश्वास व्यक्त गरे । सडक सम्पन्न भएसँगै नेपालगञ्ज-गुलरिया यात्रा छिटो, सहज र सुरक्षित हुने उनको भनाइ छ । रासस

विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति बनाउन जुट्यो सरकार Read Previous

विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति बनाउन जुट्यो सरकार

अन्तिम मिनेटमा चलखेल गरी सर्किट लगाउने दिन सकिए, नयाँ नियम लागू Read Next

अन्तिम मिनेटमा चलखेल गरी सर्किट लगाउने दिन सकिए, नयाँ नियम लागू