ऋण तिर्न ऋणै लिँदै सरकार : ८ महिनामा २ खर्ब तिर्यो, ३.३४ खर्ब लियो

काठमाडौं । मुलुकको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को ८ महिना (साउन-फागुन) सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको हो ।

चालु आवको ८ महिनामा मात्रै सार्वजनिक ऋण २ खर्ब ४१ अर्ब ९४ रुपैयाँले बढेको छ । गत असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण फागुन मसान्त्म आइपुग्दा २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको हो ।

मुलुकको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ४६.९१ प्रतिशत पुगेको हो । कार्यालयका अनुसार फागुन मसान्त्सम्म आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५७ करोड र वाह्य ऋण १३ खर्ब ६० अर्ब ४ करोड रुपैयाँ पुगेको छ । जीडीपीका आधारमा आन्तरिक ऋणको हिस्सा २३.०६ प्रतिशत र बाह्य ऋण २३.८५ प्रतिशत छ ।

सरकारले लक्ष्य अनुसार आम्दानी बढाउन नसक्दा दैनिक खर्च धान्नका लागि पनि ऋण लिनु पर्ने अवस्था छ । आर्थिक मन्दीका कारण राजस्व संकलन प्रभावित भए पनि सरकारले अनावश्यक खर्च नियन्त्रण गर्न सकेको छैन ।

सरकारले फागुन मसान्तसम्म ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ राजस्व उठाउँदा ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । आम्दानीले सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न नपुग्ने भएपछि सरकारले ऋण तिर्नका लागि नै ऋण लिइरहेको हो ।

८ महिनामा उठायो ३ खर्ब ३४ अर्ब ऋण

सरकारले चालु आवको ८ महिनामा ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । यो वार्षिक लक्ष्यको ६१.१७ प्रतिशत हो । सरकारले फागुनसम्म २ खर्ब ६९ अर्ब १५ करोड आन्तरिक र ६५ अर्ब ४७ करोड रुपैयाँ वाह्य ऋण लिएको हो ।

सरकारले चालु आवका कुल ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ । जसमा ३ खर्ब ३० अर्ब बराबर आन्तरिक र २ खर्ब १७ अर्ब बराबर वाह्य ऋण उठाउने लक्ष्य लिएको छ ।

पूँजीगत खर्चभन्दा ऋण तिर्न अढाई गुणा धेरै खर्च

चालु आव ८ महिनामा सरकारले सार्वजनिक ऋणको सावाँब्याज तिर्न २ खर्ब १ अर्ब ७२ करोड रुपैयाँ खर्च गरेको छ । कार्यालयका अनुसार फागुनसम्म सरकारले १ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ साँवा र ४२ अर्ब ७४ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ ।

कार्यालयका अनुसार ८ महिनामा आन्तरिक ऋणको १ खर्ब ३४ अर्ब ४७ करोड साँवा र ३६ अर्ब ९७ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ । त्यस्तै, वाह्य ऋणको सावाँ भुक्तानीमा ३० अर्ब २७ करोड र ब्याज भुक्तानीमा ५ अर्ब ७७ करोड खर्च भएको कार्यालयले जनाएको छ ।

सरकारले ८ महिनमा ऋणको साावा ब्याज तिर्न खर्च गरेको रकम सोही अवधिमा भएको पूँजीगत खर्चको तुलनामा झण्डै तीन गुणा धेरै हो । महालेखा नियन्त्रकका अनुसार फागुनसम्म पूँजीगत खर्च ८२ अर्ब ३३ करोड रुपैयाँ मात्रै छ ।

सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको हो ।

सरकारले चालु आवमा सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि पूँजीगत बजेटभन्दा धेरै रकम छुट्याएको छ । सरकारले चालु वर्षका सार्वजनिक ऋण तिर्न लागि ४ खर्ब २ अर्ब बजेट छुट्याइएको छ । जबकि, पूँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

लेखा समितिमा १०० उजुरी, ४८ वटामा छलफल गर्ने Read Previous

लेखा समितिमा १०० उजुरी, ४८ वटामा छलफल गर्ने

परराष्ट्रमन्त्रीले भेटिन् अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशक, मागिन यस्तो सहयोग Read Next

परराष्ट्रमन्त्रीले भेटिन् अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशक, मागिन यस्तो सहयोग