काठमाडौं । व्यवसायी विनोद चौधरीले नेपालमा व्यवसायीहरुको मनोबल बढ्न नसक्नुमा निर्णय गर्ने प्रक्रियामा सरकारी ढिलासुस्ती प्रमुख कारण रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्धारा आयोजित ‘कान्तिपुर इकोनोमिक समिट’मा व्यवसायी चौधरीले सो कुरा बताएका हुन् ।
‘निर्णय दिन कति दिन लाग्छ ठ्याक्कै भन्नुपर्यो’ चौधरीले भने, ‘हुन्छ भने काम गरिदिनुपर्यो, नहुने भए यो कारणले भएन भनिदिनुपर्यो ।’
सरकार र कर्मचारीहरु हुन्छ पनि नभन्ने र नहुनुको कारण पनि नदिने गरेको चौधरीले बताए । ‘यो कारणले काम हुँदैन भनेर लिखतमा दियो भने त गएर मुद्दा हाल्छन् नी फेरी । त्यसैले झुलाइराख्ने मात्र चलन छ । यसरी व्यवसायीको मनोबल बढ्दैन’, चौधरीले भने ।
बनेका विशेष आर्थिक क्षेत्रमा पनि उद्योगहरु नखुल्नुमा व्यवसायीहरुको कमजोर मनोबल नै कारण रहेको चौधरीले औंल्याए ।
कार्यक्रममा सहभागीहरुले पनि सरकारले व्यवसायीहरुको प्रस्ताव उपर निर्णय गर्ने प्रक्रियालाई समयसीमा नै तोकेर काम गर्नुपर्ने सुझाव दिएका थिए । साथै, उनीहरुले पूर्वाधार निर्माण भन्दा पनि लगानीकर्ताको मनोबल उकास्न सरकारको नियत महत्वपूर्ण हुने बताए ।
राजश्व सचिव शिशिर ढुङ्गानाले सरकारले व्यवसायीहरुको मनोबल उकास्न र नेपालमा व्यवसायको वातावरणको सुधार गर्न सरकार लागि परेको बताए ।
‘सरकारले व्यवसायको वातावरण निर्माण गर्नका लागि नीतिगत व्यवस्था र प्रणालीगत सुधारको कामहरु अघि बढाइरहेको छ । लगानीको लागि करलगायतमा विशेष छुट, पूर्वाधारहरुको निर्माण, सहज ढंगले लाभांश लैजाने व्यवस्था मिलाउन पनि कानुनहरुको शंसोधनको तयारी भइरहेको छ’, उनले भने ।
ढुङ्गानाले पछिल्लो समय नेपालमा व्यवसायको वातावरणमा सुधार आइरहेको र ‘डुइङ बिजनेस’मा आएको सुधारले पनि त्यसको पुष्टि गर्ने बताए ।
उनले ढिलासुस्ती गर्ने कर्मचारीहरुलाई कारवाही गरिरहेको पनि बताए । तर, कतिपय अवस्थामा व्यवसायीहरुनै प्रक्रिया पूरा नगरि आउने भएका कारण उनीहरुको चासो सम्बोधन हुन समय लाग्ने गरेको उनको दाबी थियो ।
साथै व्यवसायको वातावरण निर्माण गर्न सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेको उनले बताए । ‘पछिल्लो समय तरलताको अभाव हुँदा सरकारले ट्रेजरी बिलको माध्यमबाट बैंकहरुमा सरकारको पैसा पठाएको थियो,’ उनले स्मरण गरे ।
सचिव ढुङ्गानाले कर प्रणालीमा पनि सुधारको कार्यक्रमहरु अघि बढिरको जानकारी दिए । ‘ट्याक्स रिफण्ड गर्ने व्यवस्था गर्न लागिएको छ । कर विवरण दाखिले गर्ने कामलाई पनि थप सहज बनाउन लागिएको छ’ उनले भने ।