पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन लागिएको हो, अतिरिक्त भार पर्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवा सुविधा दिइने वा नदिइने भन्ने स्पष्ट पारिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले पूर्व विशिष्टलाई सेवासुविधा दिनका लागि अहिले कुनै कानुनी व्यवस्था नरहेको, अदालत, महालेखापरीक्षकको कार्यालय र संसदीय समितिहरुलेसमेत कानुन बनाएर सेवासुविधा उपलब्ध गराउन सुझाव दिएका कारण यो कानुन बनाउन लागिएको बताएका हुन् । यस्तो सेवासुविधा उपलब्ध गराउँदा राज्यकोषमा अतिरिक्त भार नपर्ने उनले स्पष्ट पारे ।

गृहमन्त्री लेखकले विधेयकको मस्यौदा पेस गर्दा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस्, सार्वजनिक पदहरुको गरिमा र मर्यादा अभिवृद्धि होस् तथा नागरिक स्वीकार्यता राज्यको सक्षमताबीचमा सन्तुलन होस् भन्ने कुरामा सरकार सजग र सचेत रहेको बताए ।

जनताले तिरेको कर जनताका प्रतिनिधिले तयार गरेको कानुन बमोजिम खर्च गर्नुपर्दछ भन्ने स्थापित मान्यता रहेकामा सोही मान्यताअनुसार नै गर्ने भन्ने सरकारको धारणा रहेको उनले बताए ।

‘अन्तर्राष्ट्रिय अभ्यास, अदालतका फैसला र विगतका निर्णय एवं जनताको भावना, सञ्चार जगत्ले बिना कानुन यस्ता सेवा सुविधा दिन नहुने गरेको खबरदारीलाई समेत ध्यानमा राखेर सरकारले कानुन निर्माणको आवश्यकता महसुस गरेको हो । आगामी दिनमा सरकारले पेस गर्ने मस्यौदामा संसद्ले गरेको निर्णयको कार्यान्वयन सरकारले गर्नेछ,’ गृहमन्त्री लेखकले भने ।

पौने ३ खर्ब स्रोत परिचालन गर्दै लगानी कोष, ‘प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउन अग्रसर’ Read Previous

पौने ३ खर्ब स्रोत परिचालन गर्दै लगानी कोष, ‘प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउन अग्रसर’

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण