ट्राफिक नियम उल्लघंन गर्नेलाई २ लाखसम्म जरिवाना, यस्ता छन् नयाँ व्यवस्था

काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न कडा कानुन बनाउने भएको छ । हाल जरिवाना रकम कम हुँदा ट्राफिक नियम उल्लंघन बढेपछि सरकारले २ लाख रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय गर्ने कानुन बनाउने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायाता मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदामा ट्राफिक नियम उल्लंघनमा २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको हो ।

प्रस्तावित विधेयकमा कसुर र दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । जसमा तोकिए अनुसार सवारी दर्ता प्रमाणपत्रमा उल्लेखित नम्बर प्लेट नराखेमा वा अर्कै नम्बर प्लेट राखी सवारी साधन चलाएमा १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गरी कसुरको गाम्भिर्यताको आधारमा साधनसमेत जफत गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, कुनै एक प्रयोजनको लागि दर्ता भएको साधन अर्कै प्रयोजनमा प्रयोग भएमा साना दुई पाङ्ग्रेको हकमा ५० हजार रुपैयाँसम्म, तीन पाङ्ग्रे र मझौला साधनको हकमा १ लाख रुपैयाँ र ठूला साधनको हकमा २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

लाइसेन्स नलिइ सवारी साधन चलाएमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा २ हजार रुपैयाँ, साना मझौला सवारीको हकमा ५ हजार रुपैयाँ र ठूला साधनको हकमा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । चालाउने व्यक्ति र सवारीधनी फरक भएको खण्डमा सवारी धनीले पनि सोही अनुसार जरिवाना तिर्नु पर्ने हुन्छ ।

रुट पर्मिट नलिइ गाडी चलाएमा कारबाहीमा पर्नेले १० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने हुन्छ । सवारीसाधनको जाँच पास नगराई चलाउने चालकलाई दुई पाङ्ग्रेको हकमा ५ हजार रुपैयाँ, तीन पाङ्ग्रे र साना सवारीको हकमा १० हजार र मझौला तथा साना सवारीको हकमा १५ हजार रुपैयाँ जरिवान हुनेछ ।

तोकिएभन्दा बढी स्पीडमा गाडी चलाएको खण्डमा सबै किसिमका साधनलाई ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

अधिकार प्राप्त व्यक्तिको स्वीकृति बिना ट्राफिक संकेत हटाएमा, बदलेमा, हेरफेर गरेमा, विगारेमा, मेटेमा, च्यातेमा वा केरमेट गरेमा २० हजार रुपैयाँ जरिवाना गरिनेछ ।

सिट बेल्ट वा मोटरसाइकल या स्कुटरमा हेलमेट नलगाई चलाएमा ३ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

मादक पदार्थ वा लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई १० हजार रुपैयाँ जरिवान प्रस्ताव गरिएको छ ।

सोसाइटी इन्टरनेशनल ट्राभलले पायो लुफ्थान्सा ग्रुपको नेपाल जीएसए Read Previous

सोसाइटी इन्टरनेशनल ट्राभलले पायो लुफ्थान्सा ग्रुपको नेपाल जीएसए

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) Read Next

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)