पोखरा जोड्ने तीन मुख्य सडक धमाधम कालोपत्र हुँदै

गण्डकी । पर्यटन राजधानी पोखरा जोड्ने तीन सडक यतिबेला स्तरोन्नतिको चरणमा छन् । पोखरा-मुग्लिन सडक, पोखरा-लमजुङ सडकअन्तर्गत तालचोक-बेगनास र मध्यपहाडी लोकमार्गको हरिचोक-याम्दी खण्ड कालोपत्र हुने भएको छ ।

पोखरा-मुग्निल सडक आयोजनाको पश्चिम (पोखरा-जामुने) खण्डमा हालसम्म ४३.३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार हालसम्म २९.४७ किमी सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५.३२ किमीमा दुईतर्फी र १४.१५ किमीमा एकतर्फी कालोपत्र भइसकेको छ ।

‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ,’ उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरू गरेको थियो । पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बुढीबजारलगायत क्षेत्रमा पर्ने सडक स्तरोन्नति भइरहेको इन्जिनियर नेपालले जानकारी दिए । पोखरा महानगरपालिका-२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए।

कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको छ । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माण सँगसँगै भइरहेको उनको भनाइ छ । ३८.८८ किमी दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये ९ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमी दुरीको पोखरा-मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

कुल ४१.४५ किमीको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरू गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । पोखरादेखि रुपा गाउँपालिका हुँदै लमजुङ जोड्ने सडकअन्तर्गत पोखरा-२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको उक्त सडक विश्व बैङ्कको सहुलियत ऋणमा बन्न लागेको हो ।

कुल ३.२८ किमीको उक्त सडकको हालसम्म भौतिक प्रगति ४५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले बताए। निर्माण कम्पनी ‘स्वच्छन्द-सपना-वल्र्डवाइड जेबी’ले ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरू गरेको थियो । १ अर्ब ४९ करोड रुपैयाँको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्ने उनको भनाइ छ ।

सडक छेउछाउमा बगैँचा, सडकबत्ती लगायत पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा तीन वटा पुल निर्माणाधीन अवस्थामा छन् । सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको इन्जिनियर गौतमले बताए । इन्जिनियर नेपालले आगामी असारसम्म उक्त सडक कालोपत्र गर्ने लक्ष्य लिइएको बताए । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत हरिचोक-याम्दी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।

पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका अनुसार कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइसकेको छ । करिब २२ सय मिटर दुरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । चार लेनमा सडक विस्तारसँगै नाली, पर्खाल, कल्भर्ट निर्माणलगायतका काम सकिएको जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड समयमा निर्माण नहुँदा लोकमार्गको यात्रा सास्तीपूर्ण बनेको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको जनाइएको छ । आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो । एकसाथ तीन ठूला सडक निर्माणका क्रममा रहेकाले पर्यटकीय राजधानी पोखराको यातायात सेवा केही असहज भने बनेको छ । रासस

 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन Read Previous

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

नेप्सेमा उच्च अंकको गिरावट, ५ कम्पनीको मूल्यमा सर्किट Read Next

नेप्सेमा उच्च अंकको गिरावट, ५ कम्पनीको मूल्यमा सर्किट